९ मंसिर २०८१, आईतवार
सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई अदालतमा उपस्थित गराउँदा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दिएको अभिव्यक्तिले अहिले कास्कीका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई तनाव भएको छ।
सुरक्षा कमजोरी भएकोबारे गृहमन्त्री रमेश लेखकले कास्कीका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई सोधपुछ गरी सचेत गराएका छन् । म्याद थपका लागि अदालतमा उपस्थित गराउने क्रममा लामिछानेले पत्रकारसँग प्रधानमन्त्री केपी शर्मा ओलीलाई भ्रष्टाचारको जगमा उभिएको नेता भनेका थिए ।
लामिछानेलाई काठमाडौंमा पक्राउ गरेर कास्की लगिएपछि नै राजनीतिको मुख्य केन्द्र बनेको छ । देशभरिका मिडिया यतिवेला पोखरा केन्द्रित भएका छन् । उता, आफ्नो सभापति पक्राउ परेपछि राजनीतिक प्रतिशोधको विरुद्धमा लडाइँ लड्ने भन्दै रास्वपाका मुख्य नेतादेखि कार्यकर्ताहरु पनि पोखरामा नै भेला भएका छन्
। कास्कीको सुरक्षा अवस्था संवेदनशील बनेको छ। प्रहरी पनि ठूलो मात्रामा परिचालित छ । कास्कीको प्रशासनिक कमान्ड सिडिओ भरतमणि पाण्डे र सुरक्षाको कमान्ड एसपी श्यामबाबु ओलियाले सम्हालेका छन् । पाण्डे गत जेठबाट नै कास्कीको सिडिओको रूपमा कार्यरत छन् । एसपी ओलिया भने हालै कास्की पुगेका हुन् ।
अहिले सिडिओ पाण्डे र एसपी ओलिया केन्द्र सरकारको निगरानीमा परेका छन् । रविलाई म्याद थप गर्न जिल्ला अदालत लैजाने क्रममा सुरक्षा कमजोरी भएको केन्द्र सरकारको निष्कर्ष छ । सिडिओ पाण्डेले पनि जिल्लाको शान्ति तथा सु(व्यवस्था कायम राख्ने सवालमा नेतृत्वदायी भूमिका खेल्न नसक्ने निष्कर्षमा गृह प्रशासन पुगेको छ । उनलाई पनि एसपी ओलियासँगै फिर्ता बोलाउनेगरि गृहकार्य भएको छ ।