९ मंसिर २०८१, आईतवार
सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले सुवाष नेम्वाङलाई अहिलेको संविधानको पिता भएको बताएकी छन्।
सोमवार सर्वोच्च अदालत बार एशोसिएशनले प्रकाशित गरेको सुवाष नेम्वाङ स्मृति ग्रन्थ लोकापर्णमा उनले संक्रमणकालीन न्यायलाई आजको अवस्थामा पुर्याउन नेम्वाङले निर्वाह गरेको भूमिकाको खुलेर प्रशंशा गर्दै संविधानको पिता भएको बताएकी हुन्।
‘सबैले भनेको उहाँ एकदमै सकारात्मक र मैले भनेँ कि फाउन्डिङ फादर अफ कन्स्टिच्युशन पनि भन्छु। यसको फाउन्डिङ फादर नै हो उहाँ‚’ न्यायाधीश प्रधानले भनिन्, ‘संक्रमणकालीन न्यायलाई कानूनको माध्यमबाट आज यहाँ पुर्याउनका लागि पनि उहाँको ठूलो योगदान छ भन्ने पनि म स्मरण गर्न चाहन्छु।’
एमाले नेता भीम रावलले स्वर्गीय नेम्वाङले देशको निम्ति ठूलो योगदान गरेको चर्चा गरे। कूटनीति, राजनीति, विवाद मिलाउन उनी सिपालु भएको र त्यसैले आफूसँग उनको मित्रता भएको पनि उनले स्मरण गराए।
नेम्वाङलाई बहुआयामिक व्यक्तित्वको रुपमा उल्लेख गर्दै नेता रावलले उनले पार्टीमा आउने गरेको झट्का मिलाउने काममा पनि नेतृत्वदायी भूमिका खेल्ने गरेको बताए।
‘सुवाषजीको बहुआयामिक व्यक्तित्व थियो। उहाँ मिठो बोलेर ठूलाठूला कुरा पल्टाईदिने। त्यस्तो विशेषता उहाँको‚’ उनले भने, ‘मैले त खेलमा पनि भनेको छु– उहाँ कूटनीतिमा पनि उत्तिकै सिपालु र कुरा मिलाउन पनि सिपालु। उहाँसँगको मेरो मित्रता पनि यी सबै कुराहरुमा मिसिन्थ्यो।’
एमाले सांसद सुहाङ नेम्वाङले आफ्ना पिता सुवाषले सिंगै मुलुकको एकतामा जोड दिएको र त्यसै बाटौबाट मात्रै मुलुकलाई समृद्धितर्फ अघि बढाउन सकिने बताए।
उनले नेपाली राजनीतिलाई सकारात्मक बाटोमा अघि बढाउन आफ्ना बुबा सुवाषको अभाव अहिले पनि खड्किएको बताए।
सांसद नेम्वाङले भने, ‘अहिलेको राजनीतिक परिस्थितिमा कहाँ कहाँ उहाँको उपस्थिति खड्किरहेको छ कि जस्तो मलाई लाग्छ। उहाँको जुन तरिकाको सकारात्मकता, विनम्रता थियो। अहिलेको राजनीतिमा पनि त्यसको ठूलो आवश्यकता छ कि भन्ने मलाई लाग्छ।’
नेम्वाङले पिता सुवाषको विनम्रता, शालीनताबाट सिकेर राजनीतिक दलहरु अघि बढ्नुपर्नेमा जोड दिए।