९ मंसिर २०८१, आईतवार
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सय दिनमा सरकार असफल भएपनि तत्काल आफू सरकार ढाल्ने पक्षमा नरहेको बताएका छन् ।
मंगलबार पत्रकारसँग कुरा गर्दै अध्यक्ष दाहालले सरकारको सय दिन असफल रहेको ठोकुवा गरे । सरकार निर्माणको प्रक्रिया नै सही विधि र प्रक्रियाबाट नभएको भन्दै उनले उद्देश्य नै गलत भएको दोहोर्याए ।
वर्तमान सरकारले राष्ट्र र जनताको पक्षमा धेरै काम गर्न सम्भव नरहेको टिप्पणीसमेत उनले गरे । अहिले नै ओली सरकार ढाल्ने पक्षमा माओवादी केन्द्र र आफू नरहेको भन्दै सरकार ढालेर जनतालाई पुनः हैरान बनाउने मनशाय नरहेको उनकको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘सरकारको सय दिनको कुरा जहाँसम्म छ, अब सरकार गठन नै जुन विधि, प्रक्रिया र उद्देश्यले गरियो, यो राष्ट्र र जनताको पक्षमा धेरै गर्न सम्भव छैन भन्नेकुरा त मैले शुरूमा नै भनेको थिएँ । यसले सरकार गठनको दिगो हिसाबले, प्रक्रियाको हिसाबले, समयको हिसाबले, ठाउँको हिसाबले भनेर भनेको थिएँ ।
नभन्दै सय दिनसम्मको हेर्दा यो सरकार सफल भएको मान्न सकिँदैन । सरकार असफल नै छ । तर, फेरि सरकार त बनेकै छ । मैले यो कुरा पनि भनेको छु कि सरकार राष्ट्र र जनताप्रति अझ गम्भीर र संवेदनशील होस् । र, सकारात्मक काम गरेर जाओस् भन्ने छ ।
यो सरकार अहिले नै ढाल्नुपर्छ भन्ने माओवादी केन्द्रको र मेरो कुनै मनशाय छैन । किनभने त्यसो गरेर फेरि जनतालाई हैरान पार्ने भन्दा यही सरकारले राम्रो गर्दिए हुन्थ्यो भन्ने छ । तर यो सरकारले राम्रो गरिरहेको छैन । र यो राम्रो उद्देश्यमा नै आधारित देखिएको छैन । जुन किसिमको तरिकाबाट आएको छ, त्यहाँ मलाई शंका छ र त्यो शंका मेरो रही राख्छ ।’
अध्यक्ष दाहालले राष्ट्र र जनताप्रति अझ गम्भीर र संवेदनशील बन्न सरकारलाई सुझाव दिँदै जनताको पक्षमा सकारात्मक काम गर्न आग्रह गरेका छन् ।