९ मंसिर २०८१, आईतवार
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको नेतृत्वमा ७ सदस्यीय टोली चीन भ्रमणमा जाने भएको छ ।
सिचुआन प्रान्तमा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन मुख्यमन्त्री आचार्यसहित ७ सदस्यीय प्रतिनिधि मण्डल चीन जान लागेको हो । सिचुआन प्रान्तमा समन्वय र विकासको विषयमा छलफल गर्न (नोभेम्बर ११ देखि १३) कार्तिक २६, २७ र २८ गते अन्तर्राष्ट्रिय सम्मेलन हुँदैछ । सम्मेलनमा भाग लिन मुख्यमन्त्री आचार्यसहित प्रतिनिधि मण्डल जाने भएको हो ।
२०७६ सालमा प्रदेश सरकार र सिचुआन प्रान्त बीच भगेनी सम्वन्ध कायम गरिएको थियो । तत्कालीन मुख्यमन्त्री शंकर पोख्रेलले सिचुआन प्रान्त बीच भगेनी सम्वन्ध कायम गरेका थिए ।
कृषि, उद्योग, पर्यटन लगायतका क्षेत्रमा लुम्बिनी प्रदेश सरकार र सिचुआन प्रान्त बीच सहयोग आदानप्रदान गर्ने समझदारी भएको थियो । मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री आचार्यको चीन भ्रमण स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिए ।
मुख्यमन्त्री आचार्यसहित आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, प्रमुख सचिव महादेव पन्थलगायत भ्रमणमा जान लागेका हुन्। यो भ्रमणले लुम्बिनी प्रदेश सरकार र चीनको सिचुआन प्रान्त बीच पारिस्परिक सहयोग तथा सद्भाव थप अभिवृद्धि गर्ने विश्वास लिइएको छ । भ्रमणको क्रममा लुम्बिनी प्रदेशको समग्र विकासका योजनालाई अघि बढाउन दुईपक्षीय सहयोग र सहकार्यको बारेमा समेत उच्चस्तरीय भेटवार्ता हुनेछ ।