उपनिर्वाचनमा भाग लिने रास्वपाको तयारी

होमल्याण्ड खबर

२०८१ कार्तिक २१ गते, बुधबार १५:४३ मा प्रकाशित

संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा भाग लिने गृहकार्य थालेको छ । पार्टीका केन्द्रीय सदस्य तथा सांसद गणेश पराजुलीले चुनावी अभियानको कमान्ड गर्नेछन् ।

उपनिर्वाचन हुने अधिकतम पदहरुमा सकेसम्म पार्टीका उम्मेदवार उठाउने गरी तयारी थालिएको हो । सभापति रवि लामिछाने पक्राउ परेपछि सडक आन्दोलनमा रहेको रास्वपाले उपनिर्वाचनमा भाग लिने वा नलिनेमा अन्योल थियो, तर पार्टीले सडक आन्दोलनलाई निरन्तरता दिँदै उपचुनावमा भाग लिने रणनीति बनाएको छ ।

यस उपचुनावका लागि रास्वपाले केन्द्रीय निर्वाचन संयोजन समिति बनाएको छ । समितिको संयोजकमा पराजुली तोकिएका छन् । सात प्रदेशमा सातै वटा प्रदेश संयन्त्र, जिल्ला संयन्त्र, पालिका संयन्त्र, निर्वाचन क्षेत्र समिति संयन्त्र र सम्बन्धित वडा संयन्त्र मिलेर निर्वाचन परिचालन समिति बन्नेछ । सम्बन्धित पालिका वा वडाको संयत्र प्रमुख नै चुनावी कमान्डर रहनेछन् ।

केन्द्रीय संयोजक पराजुलीले उपनिर्वाचनका लागि छिट्टै उम्मेदवार आह्वान गरिने बताए । आजै बेलुका बैठक बसेर सबै कुरा टुंग्याएपछि भोलिदेखि उम्मेदवार आह्वान हुनसक्ने उनको भनाइ छ ।

रास्वपामा उम्मेदवार छनोट प्राइमरी इलेक्सनबाट गर्नुपर्ने प्रावधान रहेको छ । एकभन्दा बढी आकांक्षी भएको खण्डमा सम्बन्धित स्थानका पार्टी सदस्यहरुले भोट दिएर उम्मेदवार छान्न पाउँछन् । यद्यपि सकेसम्म सर्वसम्मत उम्मेदवार खडा गर्ने पार्टीको रणनीति छ ।

देशका ७५३ वटा स्थानीय तहमध्ये २२ सय वडामा रास्वपाका संयन्त्र बनेका छन् । अन्य वडामा संयन्त्र बनाउने क्रम जारी छ । पार्टीको उपस्थिति नै नरहेका कतिपय वडामा रास्वपाले उम्मेदवार नउठाउन पनि सक्ने पराजुली बताउँछन् ।

‘४१ पदमा निर्वाचन हुन लागेकोमा २ वटा जिससका छन्, जसमा हामी प्रतिस्पर्धा गर्दैनौं । ३९ वटा स्थानमा उम्मेदवारी दिन हामीले आफ्नो संयन्त्रसँग संवाद गरिरहेका छौं । आज बेलुकाको जुम मिटिङबाट सबै फाइनल हुन्छ’, उनले नेपाल प्रेससँग भने ।

देशको प्रमुख राजनीतिक दल भएको हिसाबले कुनै पनि मोर्चामा पछि नहट्ने पराजुली बताउँछन् । ‘यो उपनिर्वाचनमा हामी आफ्नो सशक्त उपस्थिति देखाउने छौं । साथै अहिले जारी रहेको आन्दोलन पनि रोकिँदैन । आन्दोलनको स्वरुप चाहिँ फेरिन सक्छ’, पराजुलीले थपे ।

रास्वपाले जनपक्षीय एजेन्डाहरुलाई जनतामाझ पुर्‍याएर भोट अपिल गर्ने पराजुली बताउँछन् । यसअघि रास्वपाले उपनिर्वाचनमा भाग लिनेबारे तीन वटा मोडालिटी बनाएको थियो । ठाउँ हेरेर पार्टीले आफ्नै उम्मेदवार उठाउने, पार्टी बाहिरको उम्मेदवारलाई समर्थन गर्ने वा तटस्थ बस्ने तीन विकल्पमा रास्वपाले काम गरिरहेको छ ।