८ मंसिर २०८१, शनिबार
नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले न्याय सम्पादन सबै कागजी प्रमाणको आधारमा हुने भएकाले मिलाएर अन्याय गरेकाले न्याय पाउने घटना हुने गरेको टिप्पणी गरेका छन्।
संसदीय सुनुवाइ समितिमा सर्वोच्च अदालतका लागि प्रस्तावित दुई न्यायाधीशको सुनुवाइमा बोल्दै कागजी प्रमाण पहुँच र पैसाको आधारमा पनि तयार हुने गरेको बताए।
उनले भने, ‘हाम्रो न्याय सम्पादनको विधि र प्रक्रिया सबै कागजी प्रमाणको आधारित छ। घटना त थाहा पाउने कुरा भएन। कागज बनाउने प्रक्रिया हेर्दा बनाउने मान्छे, उसको पहुँच, क्षमता, आर्थिक स्रोतलगायतको कुराले धेरै प्रभावित गरेका हुन्छन्। बयान पनि कागजमा लेख्ने बनाउने कुरा हो। जसले गर्दा कहिलेकाहीँ तथ्यहरू ओझेल गर्ने र न्याय पाउनुपर्ने मान्छेले नपाइरहेको अवस्था हुन्छ।’
सर्वोच्चमा जाँदा कागजी प्रमाणको आधारमा अन्यायमा परेकाले न्याय नपाउने र कागज मिलाएर अन्याय गरेकाले न्याय पाउने घटना पनि बढेको भन्दै त्यसलाई रोक्ने योजना अघि सार्नुपर्नेमा जोड दिए।