२९ कार्तिक २०८१, बिहीबार
कोशी प्रदेश सरकारका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नक्कली कागजात बनाएर ३ जनालाई जापान लगेको कसुरमा अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको प्रहरीका एक जना उच्च अधिकृतले बताए ।
उनलाई विराटनगरबाट काठमाडौँ ल्याइँदै छ । नक्कली कागजात बनाएर अधिकारीसँगै जापान पुगेकाहरूले प्रतिव्यक्ति १० लाख रुपैयाँ बुझाएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
टोकियो विमानस्थलबाट डिपोर्ट (निष्कासन) भएर काठमाडौँ फर्किएका खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवा घर भएका २२ वर्षीय कञ्चन देवकोटाले प्रतिव्यक्ति १० लाख रुपैयाँ बुझाएका हुन् ।
कार्तिक १४ मा मन्त्रीसहित उनीहरू ३ जनालाई टोकियोस्थित जापानको अध्यागमन कार्यालयले डिपोर्ट गरेको थियो । काठमाडौँ विमानस्थलमा ओर्लिएपछि उनीहरू पक्राउ परेका हुन् ।
डिपोर्ट भएर आएका ३ जना सहित ६ जनालाई जिल्ला प्रहरी परिसर काठमाडौँले लिखत किर्तेसम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ । अनुसन्धानमा संलग्न एक जना अधिकृतका अनुसार उनीहरुले प्रारम्भिक बयानमा भनेका छन्, ‘जापानमा आयोजित सांस्कृतिक कार्यक्रममा सहभागी भएर उतै बस्ने शर्तमा प्रतिव्यक्ति १० लाख बुझाएका थियौँ ।’
डिपोर्ट भएका ३ जना बाहेकका धादिङ घर भएका ३४ वर्षीय महेश पाण्डे, नुवाकोट घर भएका २३ वर्षीय जुगल रिजाल र दोलखा घर भएका ३० वर्षीय वीरबहादुर सुनार पक्राउ परेका छन् । सो प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या पूर्वमन्त्री सहित ७ पुगेको छ ।