२९ कार्तिक २०८१, बिहीबार
नेपाल प्रिमियर लिग (एनपीएल) रोक्न माग गर्दै जोरा स्पोर्ट्स म्यानेजमेन्टका तर्फबाट अमिर अख्तरले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
आइतबार न्यायाधीश हरि फुयालको इजलासले रिटमा कारण देखाऊ आदेश जारी गरेको छ । तर, अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
रिटमा अख्तरले एनपीएलको फ्रेन्चाइज नेपाल क्रिकेट संघ (क्यान)ले १० वर्षका निम्ति आफ्नो नाममा दिइसकेको दाबी गरेका छन् । त्यसरी दिइसकेको फ्रेन्चाइज अरू नै कम्पनीमार्फत सञ्चालन गर्न नमिल्ने जिकिर गर्दै उनले यही कातिक २३ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।
आफूमाथि क्यानले अन्याय गरेकाले न्याय गरिदिनुपर्ने उनको माग तत्काल सम्बोधन हुनुपर्ने प्रकृतिको नभएको भन्दै सर्वोच्चले अन्तरिम आदेश आवश्यक नपर्ने ठहर गरेको हो ।
आउँदो मंसिर १६ गतेदेखि काठमाडौंमा उक्त प्रतियोगिता आयोजना हुँदै छ । प्रतियोगिताका निम्ति क्यानले खेलाडीको ‘अक्सन’ समेत गराइसकेको छ । प्रतियोगितामा सहभागी हुने आठै क्लब आ–आफ्नो तयारीमा व्यस्त छन् ।
क्लबहरूले प्रतियोगिताको तयारीका निम्ति ठूलो धनराशि समेत खर्च गरिसकेका छन् । अन्तरिम आदेश नपाएसँगै लिगका लागि तत्कालको कानुनी अवरोध हटेको छ ।