मंसिर ३ गतेबाट जनकपुरधामका संस्थागत विद्यालयहरू बन्द गर्ने घोषणा

होमल्याण्ड खबर

२०८१ मंसिर २ गते, आईतवार १३:५८ मा प्रकाशित

छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीको शुल्क निर्धारण विषयमा असन्तुष्टि जनाउँदै संस्थागत विद्यालयहरूको छाता संगठन हिसान, प्याब्सन र एनप्याब्सन आन्दोलित बनेको छ ।

जनकपुरधाम उपमहानगरपालिकाको संस्थागत विद्यालय ‘छात्रवृत्ति व्यवस्थापन समिति’को निर्णयमा आपत्ति जनाउँदै हिसान, प्याब्सन र एनप्याब्सनले संस्थागत विद्यालयहरू बन्दको घोषणा गरेको हो ।

हिसान, प्याब्सन र एनप्याब्सनले आज संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै मंसिर ३ गतेबाट संस्थागत विद्यालयहरू बन्दको घोषणा गरेका छन् । छात्रवृत्तिमा कक्षा ११ र १२ मा अध्ययनका लागि छनोट भएका विद्यार्थीसँग संस्थागत विद्यालयहरूले मनपरी ढंगले शुल्क लिने गरेको गुनासोपछि जनकपुरधाम उपमहानगरपालिकाले तोकिएको भर्ना शुल्क, मासिक शुल्क र परीक्षा शुल्क मात्र लिन पत्राचार गरेको थियो ।

हिसान, प्याब्सन र एनप्याब्सनले भने कार्यविधि २०७४ को ५।२ ९ङ० बमोजिम सिफारिस भएको विद्यार्थीहरूबाट भर्ना शुल्क, मासिक शुल्क र परीक्षा शुल्क लिन सक्ने व्यवस्था रहेको र उपमहानगरपालिकाको ‘छात्रवृत्ति वितरण व्यवस्थापन समिति’ले संस्थागत विद्यालयहरूलाई फरक खालको पत्राचार गरेको दाबी गरेको छ ।

०८१ कार्तिक २९ मा जनकपुरधामका नगर प्रमुखलाई भरतपुर, विराटनगर, वीरगञ्ज, बुटवल र टोखाहरूको स्थलगत वा विभिन्न सञ्चार माध्यमबाट विवरण संकलन गरी सो अनुसार गरिदिन अनुरोध गरेको तर सो पत्रानुसार केहि पहल नगरेपछि विद्यालय बन्द गर्न बाध्य भएको हिसान, प्याब्सन र एनप्याब्सनले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।