३ मंसिर २०८१, सोमबार
पूर्वसभामुख तथा नेपाली कांग्रेसका नेता दमननाथ ढुंगानाको निधनमा नेपाली कांग्रेसले दुःख व्यक्त गर्दै शोक कार्यक्रम घोषणा गरेको छ ।
सोमबार फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा निधन भएका ढुंगानाको सम्झनामा पार्टीले आज र भोलि दुई दिनसम्म केन्द्रीय कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ ।
साथै, मंगलबार (मंसिर ४ गते) पार्टी केन्द्रीय कार्यालय बन्द गर्ने र स्वर्गारोहणको १३औं दिनमा केन्द्रीय स्तरमा शोक सभा आयोजना गर्ने निर्णय भएको छ ।
कांग्रेसले जारी गरेको विज्ञप्तिमा ढुंगानाको निधनले पार्टी मर्माहत र स्तब्ध भएको उल्लेख गर्दै लोकतन्त्र र गणतन्त्रका लागि उनको योगदान अतुलनीय रहेको जनाइएको छ ।
दमननाथ ढुंगानाले २०४८ सालको आम निर्वाचनमा काठमाडौं क्षेत्र नं. २ बाट नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्दै प्रतिनिधि सभाको सभामुखको जिम्मेवारी सम्हालेका थिए ।
२०४८ देखि २०५१ सम्म सभामुख रहेका ढुंगानाले लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गर्दै नेपाली राजनीतिको महत्वपूर्ण हस्तीका रूपमा स्थान बनाएका थिए ।