४ मंसिर २०८१, मंगलवार
नेपाल प्रिमियर लिग एनपीएल २०२४ का लागि एनसेल र नेपाल क्रिकेट संघ (क्यान) बीच साझेदारीको घोषणा भएको छ । व्यावसायिक फ्रेन्चाइजमा आधारित यो टी-२० प्रतियोगिता एनपीएलमा एनसेल ‘पावर्ड बाई’ साझेदारको रूपमा आवद्ध भएको कम्पनीले जनाएको छ ।
यसका लागि गत हप्ता एनसेलका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभ र क्यानका सचिव पारस खड्काले समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । यो सहकार्य एनसेलको ‘हामी तपाईंकै लागि’ थिम र नेपालमा क्रिकेट तथा खेलकुदको विकासलाई सहयोग गर्ने प्रतिबद्धतामा आधारित रहेको जनाइएको छ ।
एनपीएलमा अन्तर्राष्ट्रिय खेलाडीहरूको पनि सहभागीता रहनेछ र अन्तर्राष्ट्रिय खेलकुद टीभी च्यानलमार्फत यसको प्रत्यक्ष प्रसारण हुनेछ । मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म नेपालमा सञ्चालन हुने यो प्रतियोगितामा आठ टिमका १६० खेलाडीहरू कुल ३२ खेलमा समावेश हुनेछन् । सबै खेलहरू कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना गरिनेछ । आठ टिमले राउन्ड–रोबिन फर्म्याटमा प्रतिस्पर्धा गर्नेछन्, जसमा प्रमुख शहरहरू विराटनगर, चितवन, जनकपुर, कर्णाली, काठमाडौं, लुम्बिनी, पोखरा, र सुदूरपश्चिमलाई प्रतिनिधित्व गर्ने टिमहरू छन् ।
यसअघि एनसेलले त्रिकोणत्मक टी–२० आई सिरिज २०२४, आईसीसी लिग २, र नेपाल–क्यानडा एकदिवसीय सिरिजलाई पनि सहयोग गरेको थियो । एनसेलले बिर्तामोड गोल्ड कप र झापा गोल्ड कप लगायतका विभिन्न फुटबल प्रतियोगिताहरूलाई पनि सहयोग प्रदान गरेको थियो ।
खेलकुदको विकासमा आफ्नो प्रतिबद्धता अनुरुप एनसेलले अखिल नेपाल फुटबल संघ ९एन्फा० सँग सहकार्य गरी ए डिभिजन, यू–१६ फुटबल, महिला राष्ट्रिय च्याम्पियनसिप, र महिला राष्ट्रिय टोलीका कार्यक्रमहरूमा सहयोग गरेको थियो । २०१४ मा क्यानको प्राविधिक सहयोगमा, एनसेलले पहिलो पटक घरेलु क्रिकेट प्रतियोगिता(एनसेल नेपाल प्रिमियर लिगको आयोजना पनि गरेको थियो ।