५ मंसिर २०८१, बुधबार
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले लोकरिझ्याँईको राजनीति गलत भएको बताएका छन्।
बुधवार काठमाडौंँमा विशिष्ट चलचित्रकर्मी परिचय पत्र वितरण समारोहलाई सम्बोधन गर्दै उनले लोकरिझ्याँईको राजनीति गलत रहेकाे र जे सत्य हाे त्यही बाेल्नुपर्ने बताएका हुन्।
उनले भने, ‘कलाकारको बीचमा आयो म पनि कलाकार नै थिएँ। मजदुरको बीचमा गयो भने म पनि मजदुरकै नेता नै थिएँ भन्दिने। लोकरिझ्याँईको पोलिटिक्स गलत कुरा हो। जे सही हो सही भन्नुपर्छ, जे गलत हो गलत भन्नुपर्छ।
उनले नेपाली समाज नै ढोंगी बनिरहेको उल्लेख गर्दै के बोल्दा तत्काल ताली बज्छ त्यही मात्रै बोल्ने क्रमको विकास भएको बताए।
उनले भने, ‘हाम्रो समाज नै ढोंगी समाज भयो । समाज एकदम ढोंगी समाज छ । मैले के बोलिदिँदा तत्काल ताली आउँछ, त्यही मात्रै भनिदिने। भोलिको दिन के काम गर्नुपर्छ भन्नेकुरा बिर्सिने। हामी जस्ता नेताको काम त्यही भइरहेको छ। त्यसकारण यो ढोँगी चिजहरू नगरौँ भन्ने मान्यता मेरो हो।’
उनले सम्बन्धित विषयमा योग्यता नभएका व्यक्तिलाई मन्त्री बनाउँदा देशकाे विकास नभएकाे बताए।
उनले भने, ‘त्यो हाम्रो विभिन्न क्षेत्र अस्तव्यस्त भएको कारण नै के हो भने त्यसले सही पात्र नै पाएको छैन । खेलकुदको ख नबुझ्नेहरु जहिले पनि खेलकुदमन्त्री बनिरहेको देख्छु म। वन नै नबुझेको मान्छेहरु वनमन्त्री भइरहेको हुन्छ। त्यस्तै त्यस्तै म पनि त्यही भित्र पर्छु जस्तो लाग्छ मलाई। म यो सञ्चारको धेरै कुरा नै बुझेको छैन। म जे गर्छु, जनताका लागि गर्छु।’
उनले अगाडि थपे, ‘ हामी जस्तो मन्त्रीहरू सबै बुझेको छु भन्छ। हाम्रो नेपालमा मन्त्री हुनलाई कुनै योग्यता नै चाहिँदैन। तपाईंहरुले जिताइदिएपछि पुगिहाल्यो। त्यो मन्त्रालय चलायन यति क्वालिफिकेसन, अनुभव, योग्यता चाहिन्छ भन्नेकुरा केही पनि छैन। चुनाव जितेर आएर पार्टी र नेताले मन पराएपछि भइहाल्यो।’
मन्त्री गुरुङ नयाँ चलचित्र ऐन, २०८१/०८२ भित्र ल्याइसक्ने प्रतिवद्धता जनाए।