सुदूरपश्चिममा लगानी गर्नुहोस्, हामी पूर्वाधारको व्यवस्था गरिदिन्छौं : मुख्यमन्त्री शाह

होमल्याण्ड खबर

२०८१ मंसिर ७ गते, शुक्रबार ११:०७ मा प्रकाशित

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले निजी क्षेत्रका लगानीकर्ताहरूलाई सुदूरपश्चिममा लगानी गर्न आह्वान गरेका छन्।

कैलालीको लम्कीमा बिहीबारदेखि सुरु भएको लम्की महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री शाहले रोजगारी सिर्जना गर्ने उद्योगहरू खोल्न र उद्यमशीलता अघि बढाउन इच्छुक निजी क्षेत्रलाई प्रदेश सरकारले आवश्यक पूर्वाधार उपलब्ध गराउने प्रतिबद्धता जनाएका हुन्।

“निजी क्षेत्रका साथीहरू रोजगारी सिर्जना गर्न उद्यम गर्न चाहनुहुन्छ भने गर्नुस्, प्रदेश सरकारले आवश्यक पर्ने सडक, बिजुली, र पानीको व्यवस्थापन गर्छ”, मुख्यमन्त्री शाहले भने । उनले सुदूरपश्चिमको पर्यटन विकासमा प्रदेश सरकार प्रतिबद्ध रहेको र यसका लागि विगतमा थुप्रै प्रयास भएको स्मरण समेत बताए।

बडिमालिकाको प्रचारप्रसारका लागि एक वर्षअघि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल र योग गुरु बाबा रामदेवलाई पहिलो पटक खप्तड क्षेत्रमा पुर्‍याइएको उल्लेख गर्दै, रामारोशन क्षेत्रका सडक निर्माणका लागि प्रदेश सरकारले ठूलो लगानी गरेको बताए।

ऊर्जाका क्षेत्रमा, बेतन कर्णालीदेखि विभिन्न जलविद्युत् परियोजनाको काम अघि बढाइएको बताउँदै उनले गेटा मेडिकल कलेज सञ्चालनका लागि पनि पहल भइरहेको जानकारी दिए ।

उद्घाटन समारोहमा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। मुख्यमन्त्रीको भनाइले सुदूरपश्चिममा लगानीका नयाँ अवसर खुल्ने अपेक्षा गरिएको छ।