धरहरा चढ्दा आजबाट शुल्क लाग्ने

होमल्याण्ड खबर

२०८१ मंसिर ९ गते, आईतवार १०:१६ मा प्रकाशित

धरहरा चढ्दा आजबाट शुल्क लाग्ने भएको छ । बिहीबार बसेकाे मन्त्रिपरिषदको निर्णय अनुसार अब धरहरा चढ्दा प्रतिव्यक्ति २ सय रूपैयाँ शुल्क तिर्नुपर्ने भएकाे छ । विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपांगता भएका व्यक्तिहरूले भने धरहरा चढ्दा लाग्ने शुल्कमा ५० प्रतिशत छुट अर्थात् १०० रुपैयाँमा टिकट पाउने छन् ।

सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति ५ सय र सार्कबाहेक राष्ट्रलाई प्रतिव्यक्ति १ हजार रुपैयाँ शुल्क तोकिएको छ ।विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम धरहरा सञ्चालन नहुँदासम्म अन्तरिम रूपमा हाललाई शुल्क लिई २०८१ मंसिर ९ गतेदेखि धरहरा सञ्चालन गर्न बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृति दिँदै शुल्क पनि मन्त्रिपरिषद्ले नै स्वीकृत गरेको थियो ।

त्यस्तै धरहरामा पार्किङ गर्दा आजबाट चार पांग्रे गाडीका लागि प्रतिघन्टा २० रुपैयाँ र दुई पांग्रेलाई १० रुपैयाँ तोकेको छ । धरहरा परिसरमा प्रवेशमात्रै गर्नेहरुलाई भने ५० रुपैयाँ शुल्क तोकिएको छ ।

त्यस्तै धरहरा स्तम्भमा राष्ट्रिय महत्वका विज्ञापन गर्न प्रतिघण्टा ५ हजार रुपैयाँ तोकिएको छ ।

धरहरा परिसरमा व्यावसायिक भिडियो छायांकन गर्न प्रतिघण्टा ५ हजार र फोटोग्राफीका लागि प्रतिघण्टा १ हजार शुल्क लाग्ने शहरी विकास मन्त्रालयले गरेको प्रस्तावमा उल्लेख छ ।