उमेश श्रेष्ठलाई कोषाध्यक्षमा बनाएपछि कांग्रेस संस्थापनभित्रै असन्तुष्टी

होमल्याण्ड खबर

२०८१ मंसिर १८ गते, मंगलवार १४:४० मा प्रकाशित

महाधिवेशन सकिएको तीन बर्षपछि कांग्रेस सभापति शेरबहादुर देउवाले व्यावसायी उमेश श्रेष्ठलाई कोषाध्यक्षमा नियुक्त गरेपछि संस्थापनभित्रै असन्तुष्टी चुलिएको छ । १३ औं महाधिवेशनपछि मात्र कांग्रेसमा आवद्ध भएका श्रेष्ठलाई एकैपटक पार्टीको कोषाध्यक्ष बनाएपछि देउवा समूहभित्रै असन्तुष्टी ‘भुसको आगो’ बनेकोहो ।

सभापतिको निकट हुने र कोषाध्यक्षको मातहतमा पार्टी कोष रहने भएका कारण कांग्रेसमा उक्त पदलाई निकै महत्वपूर्ण मानिन्छ । कांग्रेस विधान वमोजिम सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्रीपछिको वरीयतामा कोषाध्यक्ष रहन्छ । अन्ततः सबै आकाँक्षीलाई जिल्ल्याएर श्रेष्ठले पद हात पारेका छन् । चौधरी भन्दा पनि कार्कीको बलियो संभावना रहेको बताईंदै आएको थियो ।

कतिपयले कांग्रेसको बाह्रौं महाधवेशनमा दिएको आर्थिक जिम्मेवारीमा प्रश्न उठेका कारण देउवाले कार्कीमाथि विश्वास नगरेको बताएका छन् । अघिल्लो महाधिवेशनमा दिइएको आर्थिक संयोजकको जिम्मेवारी प्रभावकारी नभएको भन्दै उतिबेलै चर्चा चलेको थियो । कार्कीविरुद्ध अख्तियारमा गंभिर प्रकृतिका उजुरी रहेका कारण भावी कारबाहीलाई मध्येनजर गर्दै देउवाले पूर्व सावधानी अपनाएको अर्थमा समेत हेरिएको छ ।

संस्थापन निकट ति केन्द्रीय सदस्यलेभने अनुसार पछिल्लो समय कार्की भन्दा देउवासग श्रेष्ठको व्यक्तिगत निकटता र हिमचिम बाक्लिएको थियो । त्यही कारण संसद पुनःस्थापनापछि प्रधानमन्त्री बनेका देउवाले श्रेष्ठलाई शुरुमा स्वास्थ्य मन्त्री र पछि प्रधानमन्त्री कार्यालयमा कार्यरत रहने गरी मन्त्री बनाएका थिए ।

तेह्रौं महाधिवेशनयता श्रेष्ठले देउवा र उनकी पत्नी आरजु राणासँग निकट सम्बन्ध बनाउँदै आएका छन् । आरजु राणाको रोजाइका कारण पनि उनलाई कोषाध्यक्षका लागि मार्गप्रशस्त भएको चर्चा कांग्रेसभित्र छ । कांग्रेस छिरेको एकाध वर्षमै श्रेष्ठलाई कोषाध्यक्षमा च्यापेपछि कार्की देउवाले टाढिँदै गएका छन् । देउवा–कार्की सम्बन्ध ४५ वर्ष पुरानो हो ।

प्रायः सातामा कम्तीमा एकपल्ट देउवा निवास बुढानिलकण्ठ पुग्ने गरेका कार्की श्रेष्ठको नियुक्तिपछि पार्टीको मिटिङ बाहेक गएको नदेखिएको संस्थापन निकट नेताहरु बताउँछन् । नियुक्तिपछि पार्टी वैठकमा जाँदा पनि कार्की निन्याउरो अनुहार लिएर पुग्छन् ।