भक्तपुर सिपाडोलबासी खेलमैदानको विरोध गर्दै नगरपालिका पुगे

होमल्याण्ड खबर

२०७५ मंसिर १८ गते, मंगलवार १५:०७ मा प्रकाशित

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ८ सिपाडोल र ९ नंखेलमा निर्माण गर्ने भनिएको प्रस्तावित रंगशालाकाविरुद्ध किसानले मंगलबार विरोध गरेका छन् ।

खेतियोग्य जमिन जग्गाधनी समुदायसँग छलफललै नगरी तथा सहमति र स्वीकृति नै नलिई हल्लाको भरमा रंगशाला बनाउन खोजेको भन्दै किसानले विरोध सभा गरेका हुन् ।

किसानहरु अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सल्लाघारी चोकमा जम्मा भई जुलुशसहित भक्तपुरको कटुञ्जेस्थित सूर्यविनायक नगरपालिका पुगेर विरोध सभा गरेका छन् । ‘रंगशाला चाहिदैन, खेतियोग जग्गा र बस्ती हटाउन पाइदैन’ भन्ने नारा लगाएका थिए ।

भक्तपुरको चाँगुनारायण नगरपालिका ताथलीमा बनाउन लागिएको भनिएको रंगशाला स्थानीयबासीले विरोध जनाएपछि नंखेल र सिपाडोल क्षेत्र बनाउने योजना बनाइएको बताइएको छ ।

रंगशालाले १ हजार ५ सय घर परिवार विस्थापित हुने, २ हजार खेतियोग्य जमिन पनि विनाश हुने भएको भन्दै स्थानीय पीडितहरुले विरोध गरेका छन् । प्रस्तावित रंगशाला क्षेत्र सिपाडोल नंखेल, चितपोल, ताथली र सुडालको सम्पूर्ण जमिन ७०,८९७ मा वनक्षेत्र १६,१०३ रोपनी कटाउँदा ५४,७८४ रहेकोमा ३८,३५५ रोपनीमा जग्गा एकीकरण आवास योजना सञ्चालन मार्फत २ हजार रोपनी जग्गा रंगशाला बन्ने भएपछि ति समुदाय बिस्थापित हुने भन्दै ज्यान गए पनि रंगशाला बनाउन नदिने अदानकासाथ बिरोध जनाएका हुन् ।

प्रस्तावित रंगशाला पीडित संघर्ष समितिको आयोजनामा सभा भएको हो । यसअघि उनीहरुले भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट, खेलकुद मन्त्रीसमेतलाई विरोधपत्र बुझाइसकेका छन् ।