२७ फाल्गुन २०८२, बुधबार
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुखआयुक्त डा सुरेशप्रसाद आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन्।
प्रधानमन्त्री निवासमा आज बिहान भएको समारोहमा प्रधानमन्त्री ओलीले प्रमुखआयुक्त आचार्यलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। प्रधानमन्त्रीको उपस्थितिमा प्रमुखआयुक्त आचार्यले नवनियुक्त आयुक्त गगन विष्ट र दुर्गा भण्डारीलाई पद तथा गोपनीयताको शपथ गराएका थिए।


त्यस अवसरमा संक्षिप्त मन्तव्य व्यक्त गर्दै प्रधानमन्त्री ओलीले संविधानमा व्यवस्था भएको मौलिक हकका रूपमा सूचनाको हकको कार्यान्वयन र उपयोगका लागि आयोगको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड दिए।
समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङ, उक्त मन्त्रालयका सचिव राधिका अर्याललगायत उपस्थिति थिए। मन्त्रिपरिषद्को यही मंसिर ६ गतेको बैठकले उनीहरूलाई आयोगमा नियुक्त गरेको हो।