आज स्वरसम्राट नारायणगोपालको २८औं स्मृति दिवस: विविध कार्यक्रम गरी मनाईदै

होमल्याण्ड खबर

२०७५ मंसिर १९ गते, बुधबार १२:०४ मा प्रकाशित

स्वरसम्राट नारायणगोपालको आज २८औं स्मृति दिवस विविध कार्यक्रम गरी मनाईदैछ ।

विक्रम संवत १९९६ साल असोज १८ गते बाबु आशागोपाल र आमा रामदेवी गुरुवाचार्यको कोखबाट काठमाडौको किलागलमा जन्मिएका गायक नारायण गोपालको २०४७ साल मंसिर १९ गते दिन निधन भएको थियो ।

उनको सम्झनामा बुधबार साँस्कृतिक संस्थानले राष्ट्रिय नाचघर जमलमा सांगीतिक स्मृतिसभा गर्दैछ । दिउँसो साढे २ बजे हुने स्मृतिसभामा विभिन्न कलाकारहरुले नारायणगोपालका चर्चित गीत प्रस्तुत गर्नेछन् ।

त्यस्तै, महाराजगञ्जस्थित नारायणगोपालको शालिकमा माल्यार्पण् लगायत कार्यक्रम पनि हुँदैछन् ।

उनका ‘एउटा मान्छेको मायाले कति’, ‘स्वर्गकी रानी’, ‘आँखाको भाका आँखैले’, ‘मलाई नसोध कहाँ दुख्छ घाउ’ लगायत थुप्रै कालजयी गीत आज पनि उत्तिकै लोकप्रिय छन् ।

स्वर सम्राट नारायण गोपालले २०२३ सालमा रेडियो नेपालबाट सर्वोत्कृष्ट संगीतकार पुरस्कार, २०२४ सालमा सर्वोत्कृष्ट गायक, २०३९ सालमा रत्न रेकर्ड पुरस्कार, २०३३ सालमा गोरखा दक्षिण बाहु चौथो, २०४० सालमा इन्द्रराज्यलक्षमी प्रज्ञा पुरस्कार, २०४४ सालमा छिन्नलता पुरस्कार, २०४५ सालमा जगदम्बा श्री, २०४७ सालमा उर्वशी रङ, २०४८ सालमा मरणोपरान्त त्रिशक्तिपट्ट तेस्रो जस्ता दर्जनौ पुरस्कार पाएका थिए ।

बागीना पत्रिकाको सम्पादक तथा सांस्कृतिक संस्थानका महाप्रबन्धक एवं सञ्चार मन्त्रालयका सल्लाहकारसमेत रहेका थिए ।