ट्राफिक व्यवस्थापन गर्दै ललितपुर महानगरपालिका

होमल्याण्ड खबर

२०७५ मंसिर २० गते, बिहीबार ११:३४ मा प्रकाशित

ललितपुर महानगरपालिकाले सम्पदा क्षेत्रमा ट्राफिक व्यवस्थापन गर्ने भएको छ।

विश्व सम्पदा सूचीमा सुचीकृत यस स्थानमा सवारी साधनको चाप धेरै हुँदा पर्यटकलाई समेत बाधा पुगेकाले व्यवस्थापनका लागि अध्ययन थालिएको महानगरपालिकाले जनाएको छ।

मङ्गलबजार र त्यस आसपासमा सवारी साधनको आवागमन कम गर्नका लागि अध्ययन भइरहेको महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताए। दरबार क्षेत्र र आसपासमा पार्किङले यस क्षेत्रका सडक अस्तव्यस्त बनेकाले पार्किङ नदिने र सडक एकातर्फी मात्रै सवार साधन चल्न दिने महानगरपालिकाको योजना छ।

सडक व्यवस्थापनको काममा नगर प्रहरी परिचालन गर्न महानगरले ५० नगर प्रहरीसमेत थप गर्दैछ। उनले भने, ‘पार्किङमुक्त बनाउने र एकतर्फी सवारी साधन सञ्चालन गर्ने यी दुवै काम हाम्रा लागि सजिलो भने छैन।’ महानगरपालिकाले शुरु गरेको ‘महानगर ट्राफिक योजना’अन्तर्गत सम्पदा क्षेत्रको ट्राफिक व्यवस्थापका लागि अध्ययन भइरहेको हो।

पर्यटकको आगमन बढी हुने मङ्गलबजार, गावहाल, महापाल, सौगल, सुन्धारालगायत स्थानमा नै सवारी चाप बढी छ। ललितपुरको व्यापारिक केन्द्र पनि भएकाले जनप्रतिनिधि नहुँदा स्थानीय निकायले पटकपटक प्रयास गर्दासमेत एकातर्फी सवारी साधन सञ्चालन कार्यान्वयन हुनसकेको थिएन। रासस