दुर्गा प्रसाईँविरुद्ध आपराधिक लाभको कसुरमा मुद्दा दर्ता

होमल्याण्ड खबर

२०८१ पुष २५ गते, बिहीबार १२:३२ मा प्रकाशित

बिएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईँविरुद्ध जिल्ला अदालत काठमाडौंमा संगठित अपराध र आपराधिक लाभ लिएको अभियोगमा मुद्दा दर्ता भएको छ ।

दुर्गा प्रसाईँसहित नवीन प्रधान भनिने हरिचन्द्र फुयाँल र रामचन्द्र मैनालीविरुद्ध संगठित रूपमा आपराधिक लाभ लिएको कसुरमा मुद्दा दर्ता भएको सरकारी वकिलको कार्यालयले जनाएको छ । उनीहरू पनि झापाकै हुन् ।

फुयाँललाई प्रहरीले भारतबाट पक्राउ गरेर ल्याएको थियो । उनले दुर्गा प्रसाईँकै योजना र आदेश बमोजिम आफूले विभिन्न व्यक्तिलाई धम्क्याएको बयान दिएका छन् ।

प्रसाईँलाई विद्युतीय कारोबार ऐन विपरीतको कसुरमा प्रहरीले पक्राउ गरेकोमा अदालतबाट धरौटीमा रिहा भएका थिए । त्यहिबेला उनी र र उनको समूहले विभिन्न व्यक्तिलाई धम्की दिएर रकम असुलेको प्रमाण प्रहरीले फेला पारेको थियो ।

प्रसाईँ र उनको समूहले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमेतलाई धम्क्याएको अडिओ अदालतमा पेश भएको छ । त्यसबाहेक अन्य व्यवसायीको समेत निवेदन परेको सिआइबीले जनाएको छ ।

भारतका चर्चित ग्याङस्टार लरेन्स विश्नोइको ग्याङको सदस्य भन्दै विभिन्न व्ययवासीलाई धम्की आएको थियो । त्यसरी फोन गर्ने व्यक्ति फुयाँल नै भएको पाइएको छ ।

अदालतमा पेश भएको अभियोगपत्रमा दुर्गा प्रसाईँले पाँच लाख दिएकोबारे बोलेको अडियो पनि समावेश भएको छ ।

फुयाँलको मोबाइलबाट बरामद अडिओमा भनिएको छ, ‘त्यस्तोमा जाँदैन भाइ पैसा, स्पष्ट खाता नम्बर र मान्छेको नाम चाहिन्छ के, ए भाइ खै… चन्द्रलाई फोन गर्थ्यो । त्यो पैसा हाल्न लगाउँथ्यो । ५ लाख छिटो हाल भन त…’

चन्द्र बी.एण्ड सी. अस्पतालका लेखा प्रमुख रहेको बताइएको छ । यस्ता धेरै अडिओ फेला परेका र फरेन्सिक परीक्षणबाट प्रसाईँकै भएको पुष्टि भएको प्रहरीले जनाएको छ ।