२७ फाल्गुन २०८२, बुधबार
सुप्रिम सहकारीका १० हजार ३ सय ९१ जनाले बचत गरेको १ अर्ब ३१ करोडमध्ये ८६ करोड १८ लाख रुपैयाँभन्दा बढी रकम अपचलन भएको छ । त्योमध्ये १४ करोड रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्कमा गएको छ । प्रहरीले पूर्व गृहमन्त्री रवि लामिछाने, पूर्व डीआइजी छविलाल जोशीसहित १४ जनालाई मुद्दा चलाउन राय सहितको प्रतिवेदन गत शुक्रवार प्रहरीले बुझाएको थियो ।
सोही आधारमा मुद्दा दायरको प्रक्रिया अगाडि बढाएको हो । जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी अनन्त मरासिनीले सबै कागज हेर्दा केही घण्टा लाग्ने बताए । उनले भने, ‘उताबाट अझै आएको छैन आएपछि पनि यहाँ सबै कागजपत्र अध्ययन गर्नुपर्छ, त्यो गर्न २, ३ घण्टा पनि लाग्छ सक्छ एक दिन पनि लाग्न सक्छ।’


प्रहरी स्रोतका अनुसार अनुसन्धान प्रतिवेदनमा रविविरुद्ध व्यक्तिगत रूपमा २ करोड र गोर्खा मिडियाका नाममा (सामूहिक) २ करोड १५ लाख २८ हजार गरी ४ करोड १५ लाख २८ हजार रुपैयाँको बिगो माग दाबी गरिएको छ ।
त्यस्तै जोशीविरुद्ध २ करोड ५० लाख र मिडियाको नाममा (सामूहिक) १ करोड ७७ लाख ८८ हजार गरी ४ करोड २७ लाख ७८ हजार रुपैयाँ बिगो दाबी गरिएको स्रोतको भनाई छ । यस्तै सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङविरुद्ध व्यक्तिगत २ करोड ८८ लाख १४ हजार र सामूहिक २ करोड ७ लाख ९४ हजार गरी ४ करोड ९६ लाख ८ हजार बिगो माग दाबी प्रहरी प्रतिवेदनमा गरिएको छ ।