संघीय संसद्को आगामी निर्वाचन स्थानीय तहको निर्वाचनभन्दा पहिला गर्न माग

होमल्याण्ड खबर

२०८१ माघ १८ गते, शुक्रबार १४:११ मा प्रकाशित

नेपाली कांग्रेसको संसदीय दलको बैठकमा संघीय संसद्को आगामी निर्वाचन स्थानीय तहको निर्वाचनभन्दा पहिला गर्न माग गरेका छन् ।

शुक्रबार संसद् भवनस्थित ल्होत्से हलमा बसेको बसेको कांग्रेसको संसदीय दलको बैठकमा सांसदहरूले आगामी संघको निर्वाचन पहिला गर्ने गरी आवश्यक व्यवस्था मिलाउन माग गरेका हुन् ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले आज सांसदहरूले बोल्ने क्रम सकिएको तर मन्त्री र पार्टीका पदाधिकारीहरूले बोल्न बाँकी रहेकाले २४ गते पुनः संसदीय दलको बैठक बस्ने जानकारी दिए ।

उनले बैठकमा सांसदहरूले सरकारले ल्याएको अध्यादेश, आफ्नो क्षेत्र विकास निर्माणका कुराहरू उठाउनुभएको बताए । उनले भने, ‘नेपाली कांग्रेसको संसदीय दलको बैठक आज सक्ने गरी हामीले बोलाएका थियौँ । तर बोल्ने वक्ताहरूको क्रम लामो भएकाले आज पनि बैठक सकेनौँ ।

सांसदहरूको बोल्ने क्रम सकिएको छ । अब मन्त्रीहरू, पदाधिकारीहरू र नेताहरूले बोल्ने क्रम बाँकी छ । यो संसद्को बैठक २४ गते हुन्छ । त्यही दिन बिहान साढे ८ बजेदेखि बस्ने गरी बैठकलाई स्थगन गरिएको छ ।

बैठकमा पाथीभरा केबलकारको बारेमा पनि सम्बन्धित जिल्लाका सांसदहरूले आफ्ना धारणा राखेका थिए। उनले थपे, ‘अध्यादेशको विषयमा मान्य सदस्यहरूले कुरा उठाउनुभएको छ । आफ्नो क्षेत्र विकास निर्माणका कुराहरू उठाउनुभएको छ ।

सम्बन्धित जिल्लाका मान्य सदस्यहरूले पाथीभराको केबलकारका विषयमा जुन किसिमको द्वन्द्व भइरहेको छ । त्यसमा पनि प्रश्न उठाउनु भयो । त्यसमा गृहमन्त्रीज्यूले संसदीय मामिला मन्त्रालयअन्तर्गत पर्दो रहेछ ।

उहाँले संसदीय मामिला मन्त्रालयको सचिव बोलाएर वार्ता समिति बनाएर वार्ता गरेर सकारात्मक ढंगबाट टुङ्ग्याउन निर्देशन दिएको बताउनुभयो ।’ न्युज एजेन्सी