९ मंसिर २०८१, आईतवार
कञ्चनपुरको महेन्द्रनगरदेखि भारतको देहरादूनका लागि नेपाल–भारत मैत्री बस सेवा सुरु भएको छ । नेपाल र भारतका यातायात व्यवसायीको संयुक्त पहलमा सुरु भएको मैत्रीबस सेवाको शनिबार सुदूरपश्चिमका पर्यटन राज्यमन्त्री प्रकाश रावल र भारतका विधायक पुष्कर धामीले संयुक्त रूपमा एक कार्यक्रमबीच उद्घाटन गरे ।
उद्घाटन कार्यक्रममा बोल्दै सुदूरपश्चिमका पर्यटन राज्यमन्त्री प्रकाश रावलले बस सेवाले नेपाल–भारतबीचको सम्बन्ध झन् प्रगाढ हुने बताए । उनले नेपाल–भारतबीच धार्मिक सम्बन्ध भएकाले पनि बस सेवा प्रभावकारी हुने बताए । उनले भने, “मैत्री बस सेवाले सीमा नाकामा हुने लुटपाटका घटनामा पनि कमी आउनेछ ।”
कार्यक्रममा बोल्दै भारतका विधायक पुष्कर धामीले बस सेवा सञ्चालनले नेपाल–भारतबीचको सम्बन्ध झन् बलियो हुने बताए । उनले भने, “नेपाल–भारतबीच धार्मिक सम्बन्ध छ, यसले भक्तजनहरूलाई पनि फाइदा हुन्छ ।” उनले नेपाल–भारत आवागमन सहजका लागि वन बासाको पुल दैनिक ७ घण्टा खुल्दै आएको पुल १२ घण्टा सञ्चालनमा ल्याउनका लागि पहल गर्ने बताए ।
महाकाली यातायात बस व्यवसायी कम्पनी प्रालिले नेपाल–भारत मैत्री बस सेवा सञ्चालन गरेको हो । भारतको देहरादूनका लागि महेन्द्रनगरबाट दैनिक १ बस छुटनेछ । महाकाली यातायात प्रालिले उक्त रुटका लागि ५ वटा बस सञ्चालन ल्याएको छ । देहरादूनका लागि महेन्द्रनगर र देहरादूनबाट साँझ ६ बजे बस छुट्नेछ । उक्त रुटका बसहरू धार्मिक सहर हरिद्वार हुँदै देहरादुन पुग्ने भएकाले बस सेवा प्रभावकारी हुने विश्वास गरिएको छ । महाकाली यातायातले दिल्लीपछि देहरादूनका लागि सेवा विस्तार गरेको छ ।