यी १० वटा सञ्चारमाध्यम प्रेस काउन्सिलकाे कालोसूचीमा

होमल्याण्ड खबर

२०८१ माघ २१ गते, सोमबार १२:४५ मा प्रकाशित

प्रेस काउन्सिल नेपालले कालोसूचीमा राखेका ४ वटा सञ्चार माध्यमको कारवाही फुकुवा गरेको छ । दर्ता र सूचीकरण नभई चलेका ५४ युट्यूव च्यानल र ५ फेसबुक पेजलाई थप अनुसन्धान र कारवाहीका लागि नेपाल प्रहरीको साइबर ब्युरोमा पठाएको काउन्सिलले जनाएको छ ।

काउन्सिलद्वारा आइतबार जारी विज्ञप्तिअनुसार टिभीअन्नपूर्ण डटकम, योहो टेलिभिजन, त्रिनेत्रपोष्ट साप्ताहिक, खोजतलास अनलाइन डटकमको अवज्ञाकारी/कालोसूचीको कारवाही फुकुवा गरिएको हो ।

काउन्सिलका सूचना अधिकारी सहप्रशासकीय अधिकृत रामशरण बोहराका अनुसार चालू आर्थिक वर्षको साउनयता कालोसूचीमा परेका १० वटामध्ये ४ वटा सञ्चारमाध्यमले क्षमायाचना गर्दै आगामी दिनमा आचारसंहिता एवं काउन्सिलको निर्देशन पालनामा प्रतिबद्धता जनाएपछि कारवाही फुकुवा गरिएको हो ।

काउन्सिलको निर्देशन अवज्ञा गर्ने अन्य ६ वटा सञ्चार माध्यम एबीपीक्राइमन्यूज डटकम, सेतोखरी डटकम, कोशीपोष्ट डटकम, हेर्दाहेर्दै डटकम, दियोपोष्ट डटकम र नेपालकथा डटकमलाई थप कारवाही अगाडि बढाइएको विज्ञप्तिमा जनाइएको छ । यीमध्ये एबीपीक्राइमन्यूज डटकम, दियोपोष्ट डटकम र हेर्दाहेर्दै डटकमलाई भने सूचीकरणबाटै हटाइएको छ ।

पत्रकार आचारसंहिताको पटक पटक र श्रृंखलावद्ध उल्लंघन गरेका सञ्चार माध्यमलाई काउन्सिलले कारबाहीस्वरूप कालोसूचीमा राख्ने, सूचीकरणबाट हटाइ विज्ञापन र अन्य सुविधा रोक्न सम्बन्धित निकायमा सिफारिस गर्न सक्ने व्यवस्था छ ।

पत्रकार आचारसंहिताको दायरामा बस्ने, गल्ती सच्याउन तयार भइ सन्तुलित समाचार प्रवाह गर्ने प्रतिबद्धता सम्बन्धित सञ्चार माध्यमबाट आएपछि काउन्सिलले आफूले गरेको कारवाही फुकुवा समेत गर्दै आएको छ ।

प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले गल्ती सच्याउने तत्परता राख्नु सञ्चारमाध्यमको धर्म रहेको बताए ।

‘काउन्सिलले कारवाही मात्र गर्ने होइन, गल्ती महसुस गर्दै सही र तथ्यपूर्ण समाचार सामाग्री दिने प्रतिवद्धता जनाउने सञ्चार माध्यमलाई कारवाही फुकुवासमेत गर्छ, गर्दै आएको छ’, उनले भने ।