तत्काल मन्त्री र प्रधानमन्त्री बन्न राजनीतिमा आएका होइनौं : सीके राउत

होमल्याण्ड खबर

२०८१ माघ २७ गते, आईतवार १५:४५ मा प्रकाशित

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले आफ्नो पार्टी तत्काल प्रधानमन्त्री वा मन्त्री बन्नका लागि राजनीतिमा नआएको स्पष्ट पारेका छन् । आज (आइतबार) नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष राउतले छोटो समयमै कुनै पनि पार्टीबाट ठूलो उपलब्धि अपेक्षा गर्नु गलत हुने बताएका छन् । उनले नागरिकहरूले तत्काल नतिजा खोज्ने प्रवृत्ति देखाए पनि त्यसका लागि धैर्य आवश्यक रहेको बताए।

‘हामीले राजनीति थालेको, नयाँ पार्टी स्थापना गरेको एक वा दुई वर्ष पनि भएको छैन । अहिले बल्ल प्रथम महाधिवेशन हुँदैछ । तर, हामीसँग तत्कालै देशको निकास खोज्ने, प्रधानमन्त्री बनाउन सक्ने, संसद् नियन्त्रण गर्न सक्ने, कानुन बनाउन सक्ने अपेक्षा गरिन्छ,’ उनले भने, ‘धैर्यता आवश्यक छ । जुनसुकै नयाँ पार्टीका सन्दर्भमा म भन्न चाहन्छु, नेतृत्वमा पनि धैर्यता हुनुपर्छ । हामी प्रधानमन्त्री वा मन्त्री बन्न आएको होइनौं, विचार स्थापित गरेर देशलाई निकास दिन आएका हौं । यसमा समय लाग्छ, यो रातारात सम्भव छैन ।’

अध्यक्ष राउतले पुराना राजनीतिक दलहरू पनि रातारात सशक्त नभएको उल्लेख गर्दै नयाँ पार्टीहरूले सिक्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।