१४ मंसिर २०८१, शुक्रबार
निर्मला हत्याकाण्डमा नेपाल प्रहरीले फेरि जालझेल र तिकडम गर्न लागेको पाइएको छ । यसपटक भने प्रहरीको केन्द्रीय नेतृत्वले नै नक्कली (प्रायोजित) अभियुक्त खडा गरेर हत्याकाण्ड किनारा लगाउने कोसिस गरेको छ । पक्राउ परेका दुई किशोरले हत्याकाण्डमा संलग्न रहेको स्विकारिसकेका भन्दै प्रहरीले केही सञ्चारमाध्यममा जानकारी दिएको छ ।
काठमाडौंबाट प्रकाशित एक अखबार र केही अनलाइनले १७ वर्षीय प्रदीप रावल र १४ वर्षीय विशाल चौधरीको डिएनए परीक्षण भइरहेको बताएका छन् । दुवैलाई केही दिनमैं निर्मलाको बलात्कारपछि हत्या गरेको अभियोगसहित सार्वजनिक गरिने प्रहरीले जनाएको छ । प्रहरीले विभिन्न च्यानल प्रयोग गरी प्रदीपको डिएनए मिलिसकेको र एकदुई दिनमैं दुवैलाई सार्वजनिक गर्ने हल्ला पनि फिजाइरहेको छ । आश्यर्च त के भने उनीहरुको डिएनए परीक्षण एक साताभन्दा कम समयमै हुने शैलीमा प्रहरीले अफवाह फैलाएको छ । एसपी दिल्लीराज बिष्ट, आयुस र किरणको डिएनए जाँच हुने बेला उपलब्ध प्रविधिअनुसार डिएनए परीक्षण गर्न नेपालमा कम्तीमा १२ दिन लाग्ने बताइएको थियो ।
तर, प्रदीप र विशालको संलग्नता रहेको प्रहरीको दाबी गलत प्रमाणित हुने पूरापूर सम्भावना देखिएको छ । निर्मलाको बलात्कार भएको १० साउन बिहान करिब १० बजेपछि प्रदीप वडा प्रहरी कार्यालयको नियन्त्रणमा थिए । विशाललाई पनि प्रहरीले सोही दिन अपराह्न ४ बजे उनकै घरबाट नियन्त्रणमा लिएको थियो । दुवैमाथि कुखुरा चोरेको आरोप लागेको थियो । पोस्टमार्टम रिपोर्टअनुसार निर्मलाको हत्या त्यस दिन दिउँसो करिब ३ बजेपछि भएको थियो ।
प्रहरी नियन्त्रणबाट प्रदीप १२ साउन र विशाल ११ साउनमा छुटेका थिए । प्रहरीको औपचारिक स्तरबाट प्रदीप र विशालबारेमा कुनै जानकारी दिइएको छैन । काठमाडौंबाट प्रकाशित समाचारप्रति पनि प्रहरीले कुनै प्रतिक्रिया व्यक्त गरेको छैन । यसबाट प्रकाशित समाचारमा प्रहरी सहमत भएको बुझिन्छ । समाचारअनुसार प्रहरीको केन्द्रीय नेतृत्वसमेत फर्जी अभियुक्त तयार गरी वास्तविक अपराधी लुकाउन चाहन्छ भन्ने दाबी गर्न सकिन्छ ।
केही दिनयता निर्मला हत्याकाण्डमा भगतपुरका १७ वर्षीय प्रदीप गिरी, सालघारीका १४ वर्षीय विशाल चौधरी र सालघारीकै दिनेश चौधरीलाई प्रहरीले पक्राउ गरेको, प्रदीप र विशालले अपराध स्वीकार गरेको तथा उनीहरुको डिएनए परीक्षण हुँदै गरेको समाचार प्रकाशित भइरहेको छ ।
प्रहरी स्रोतलाई उद्धृत गर्दै राजधानीबाट प्रकाशित एक पत्रिकाले प्रदीपले निर्मलाको मुखमा कपडा कोचेर हत्या गरेको स्विकारेको समाचार प्रकाशन गरेको छ । जब कि पोस्टमार्टम रिपोर्टमा निर्मलाको कण्ठनली भाँचेर हत्या गरिएको उल्लेख छ । पत्रिकाले प्रदीप र निर्मला छिमेकी भएको पनि उल्लेख गरेको छ ।
प्रदीपलाई काठमाडौंको सुन्धाराबाट पक्राउ गरिएको प्रहरी स्रोतको हवाला दिँदै उक्त पत्रिकाले समाचार लेखेको छ । उक्त पत्रिकाले नै प्रदीपले विशाल र दिनेशको संलग्नता रहेको जनाएको लेखेको थियो । त्यसपछि बिहीबार (१३ गते) दुवै जनालाई पक्राउ गरी काठामाडौं लगिएको समाचारमा उल्लेख छ । प्रहरी स्रोत भन्दै उक्त पत्रिकाले निर्मलाको हत्या भएकै दिन १० साउनपछि प्रदीप भारततर्फ गएको र अचानक काठमाडौंमा देखिएपछि पक्राउ गरिएको जनाएको छ ।
विशालले अपराध स्वीकार गरेको तर दिनेश निर्दोष रहेको भन्ने प्रहरी कथन पनि मंसिर १५ गते शनिबारको अंकमा उक्त पत्रिकाले छापेको छ ।
पत्रिकाले स्रोत उल्लेख गरी लेखेका समाचारबारे प्रहरीले कुनै प्रतिक्रिया दिएको छैन । तर, त्यस पत्रिकाले लेखेका करिब आधादर्जन तथ्य गलत रहेको पाइएको छ । प्रहरीले विशाल र प्रदीपलाई पक्राउ गर्नुसमेत आश्चर्यजनक देखिन्छ । उनीहरुलाई विचारपूर्वक बनाइएको योजनाअनुसार पक्राउ गरिएको केही तथ्य पनि खुलेका छन् ।
दिलीप बिष्ट गिरफ्तारी प्रकरणबाट पनि प्रहरीले कुनै पाठ नसिकेको पाइएको छ । प्रदीप र विशालको सन्दर्भमा पनि प्रहरीले केही महत्वपूर्ण पक्षको अनुसन्धान नगरेको संकेत प्राप्त भएको छ ।
निर्मलाको बलात्कार र हत्या भएको दिन १० साउनमा प्रदीप बिहान करिब १० बजेपछि वडा प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतमा थिए । विशाललाई प्रहरीले बेलुका ४ बजे घरबाटै नियन्त्रणमा लिएको थियो । उनीहरुमाथि भगतपुरचोक नजिकको मासु पसलबाट कुखुरा चोरेको आरोप लागेको थियो ।
९ साउनमा प्रदीपले आफ्नो पसलबाट कुखुरा चोरेको पसलधनी पाले चौधरीले वडा प्रहरीमा उजुरी गरेका थिए । १० साउन बिहान करिब ९ बजे वडाको गस्ती भ्यान पालेको पसलमा पुग्दा प्रदीप त्यहीं थिए । आफूले प्रदीपलाई चिनाएपछि प्रहरीले भ्यानमा राखेर लगेको पसलधनी चौधरी बताउँछन् ।
आफन्तहरुले थाहा नपाउँदा प्रदीप वडा प्रहरीको नियन्त्रणमै रहेका र १२ साउनमा मात्रै हिरासतमुक्त भएको प्रदीपका काका बलबहादुर रावलले बताए ।
वडा प्रहरी कार्यालयमा प्रदीपले कुखुरा चोर्ने काममा विशाल चौधरी पनि संलग्न रहेको बताएपछि प्रहरीले साँझ करिब ४ बजे विशाललाई सालघारीस्थित घरबाट पक्राउ गरेको उनकी आमा सर्मती चौधरीले बताइन् ।
अधिकारकर्मी शारदा चन्द र मीना भण्डारीले शुक्रबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा हेरेको कागजमा पनि विशाललाई १० गते ४ बजे घरबाटै पक्राउ गरिएको उल्लेख रहेको दुवै अधिकारकर्मीको भनाइ छ । डिएसपी कृष्ण ओझाले चन्द र भण्डारीलाई पक्राउपुर्जी, हाजिरी र बुझिलिएको कगजात देखाए पनि प्रतिलिपि दिन मानेनन् ।
आमाले जमानत लिएपछि विशाललाई ११ साउनमा छोडिएको थियो । विशालको पनि चोरीमा संलग्नता रहेको बयान दिने प्रदीप भने १२ साउनमा मात्रै हिरासतमुक्त भएका थिए । विशालले १२ गते जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएर तारेख बुझाएको कागज डिएसपी कृष्णराज ओझाले आफूहरुलाई देखाएको अधिकारकर्मी चन्द र भण्डारीले बताएका छन् ।
मासुपसले चौधरीले आफूले प्रदीपबारे मात्रै उजुरी दिएको, प्रदीपलाई पक्राउ गरेपछि उनैले विशालको नाम खोलेको र दुवै जना १० साउन राति वडा प्रहरी कार्यालयको नियन्त्रणमा रहेको बताएका छन् ।
यहाँनिर ….
उच्चस्तरीय छानबिन समितिको प्रतिवेदनअनुसार पोस्टमार्टम रिपोर्टमा निर्मलाको हत्या १० साउन अपराह्न करिब ३ बजे भएको उल्लेख छ । पाले चौधरीका अनुसार प्रदीपलाई प्रहरीले त्यही दिन बिहान करिब १० बजे नियन्त्रणमा लिएको छ ।
प्रदीपको बयानका आधारमा प्रहरी अपराह्न करिब ४ बजे विशालको घर जाँदा उनी घरमै थिए । घरबाटै विशाललाई प्रहरीले गाडीमा राखेर लगेको आमा सर्मती र छरछिमेकीले बताएका छन् । प्रदीप बिहानैदेखि प्रहरी हिरासतमा छन् । पाले चौधरीको पसलबाटै उनलाई करिब ४ घण्टाअगाडि प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरी र पोस्टमार्टम रिपोर्टअनुसार करिब ३ बजे निर्मलाको हत्या भएको छ । प्रहरीले त्यसको ठीक एक घण्टापछि घरबाटै विशाललाई नियन्त्रणमा लिएको छ ।
साउन १० गते बिहान १० बजे भगतपुरस्थित मदनआश्रित स्कुलनजिकको पाले चौधरीको मासुपसलबाट गिरफ्तार भएका प्रदीपले चोरीमा विशालको पनि संलग्नता रहेको बयान दिएपछि प्रहरीले विशाललाई खोज्न थाल्यो । घरमा लुकेर बसेका विशाललाई प्रहरीले समात्यो । तर अहिले उनीहरु दुवैलाई निर्मलाको बलात्कार र हत्याको अभियोगमा काठामाडौंमा थुनिएको छ ।
प्रहरी हिरासतमा रहेका प्रदीप कसरी त्यहाँबाट उम्केर निर्मलाको बलात्कार र हत्या गरी फेरि साँझ प्रहरी हिरासतमै पुगे भन्ने प्रश्न उठ्छ । अर्कोतिर ३ बजे बलात्कार र हत्या गरेर ४ बजे विशाल घर पुगेको प्रहरी तर्क शंकास्पद देखिन्छ । उनकी आमा र पक्राउ पर्दाका प्रत्यक्षदर्शी छिमेकीका अनुसार प्रहरीको गाडीमा बस्दा विशाल धेरै आत्तिएका थिएनन् । आमा सर्मती र विशालका भाइका अनुसार त्यस दिन विशाल बिहानैदेखि घरैमा थिए ।
जब कि निर्मलाको हत्या दिउँसौ भए पनि शव व्यवस्थापन १० साउन राति परेको पानी रोकिएपछि गरिएको लगभग पक्का देखिन्छ । प्रत्यक्षदर्शी र उपलब्ध भिडियो फुटेजअनुसार ११ साउन १० बजे शव पाइएको स्थाननजिक निर्मलाका किताब नभिजेको अवस्थामा पाइएका थिए । १० साउन रातभर त्यस क्षेत्रमा घनघोर वर्षा भएको थियो ।
प्रदीपका काका बलबहादुर रावलले पनि प्रदीपलाई १० साउन बिहान करिब १० बजे पाले चौधरीको पसलनजिकबाट पक्राउ गरिएको र १२ गते छुटाइएको बताए ।
प्रहरीले राजधानीबाट प्रकाशित उक्त पत्रिकालाई चुहाएको समाचरअनुसार प्रदीप १० साउनपछि महेन्द्रनगरबाट गायब भएका थिए । समाचारमा उनी भारत गएको र अचानक काठमाडौंमा देखा परेपछि पक्राउ गरिएको उल्लेख छ । तर प्रदीप भदौ ११–१२ गतेसम्म महेन्द्रनगरमै रहेको खुलेको छ । उनी विद्युत् प्राधिकरणअगाडिको राई ग्यारेजमा काम गर्थे । १० भदौमा उनले ग्यारेजका साहुबाट दुई हजार रुपैयाँ मागेर काठमाडौं गएको उनका काका बलबहादुरले बताए ।
बलबहादुरका अनुसार निर्मला हत्याकाण्डको केही महिनाअगाडि प्रदीप बम्बईमा चार महिना बसेर फर्केका थिए । त्यसपछि उनी भारत नगएको बरु निर्मला हत्याकाण्डको एक महिनापछि काठमाडौं गएको बलबहादुरको भनाइ छ ।
काका बलबहादुरका अनुसार भगतपुरकै भोटे राई भन्ने हर्के राईले बोलाएर प्रदीप काठमाडौं गएका हुन् । ‘जरुरी काम छ तुरुन्त आइज भनेर बोलाएको रहेछ,’ बलबहादुरले भने, ‘काठमाडौंमा प्रदीप भोटेसँगै थियो ।’
भोटे राईकै डेरामा प्रदीप करिब तीन महिना बसेको बताउँदै बलबहादुरले कामको बारेमा भने केही भन्न सकेनन् । भोटे राईले काठमाडौं बोलाउनुको कारणबारे बलबहादुरलाई शंका लागेको छ । उनले भने, ‘भोटेकै योजनामा प्रदीपलाई फसाइएको हो ।’
१७ वर्षीय प्रदीप महेन्द्रनगरका पुराना बासिन्दा भरबहादुर रावलका नाति हुन् । उनका बुवाको नाम टेकबहादुर हो । ऋण लागेपछि जायजेथा सकिएका टेकबहादुर श्रीमती र सन्तानसहित भारतको बैंगलोरमा छन् । प्रदीप भने बाजेसँगै भगतपुरको कच्ची घरमा बस्दै आएका थिए । उनी तत्कालीन एमाले समर्थक थिए र युवा नेता महेश पन्तको अत्यन्त निकट मानिन्थे । भोटे भन्ने हर्के राई र महेश अत्यन्त मिल्ने साथी हुन् । प्रदीप भोटेको समेत निकटस्थ थिए ।
‘घरमा कोही नभएको हुँदा प्रदीप प्रायः छिमेकी महेश पन्तकै घरमा हुन्थे, उनी महेशलाई घरायसी काममा पनि सघाउँथे,’ प्रदीपका काका बलबहादुर भन्छन्, ‘महेशसँगै लोकेन्द्र नेपालीको घर पनि प्रदीपको घरडेराजस्तै थियो ।’ लोकेन्द्र नेपालीको भने निर्मला हत्याकाण्डपछि मृत्यु भएको छ ।
अत्यधिक रक्सी सेवनपछि घरको सिँढीबाट लडेर उनको मृत्यु भएको बताइएको थियो । लोकेन्द्र महेशका निकटतम व्यक्ति हुन् । दुवैजना तत्कालीन एमालेका स्थानीय नेता पनि हुन् । महेश पन्त नवगठित नेकपाका प्रदेश कमिटी सदस्य हुन् । उनी प्रधानमन्त्री केपी ओलीका निकटस्थ मानिन्छन् ।
कुखुरा चोरीमा प्रहरी हिरासतमा रहे पनि प्रदीप बलात्कार र हत्यामा संलग्न नभएको काका बलबहादुरको दाबी छ । उनी प्रदीपलाई काठमाडौं बोलाएर फसाइएको बताउँछन् । हर्के राईमार्फत काठमाडौं बोलाएर प्रदीपलाई फसाउन तत्कालीन एमालेका स्थानीय नेताहरुको हात रहेको उनी खुलेरै आरोप लगाउँछन् ।
‘उसलाई प्रलोभनमा पारेजस्तो छ, नत्र भने १० साउनमा प्रहरी हिरासतमा रहेको व्यक्तिले कसरी त्यही दिन दिउँसो बलात्कार र हत्या गर्छ ?’ उनको प्रश्न छ । प्रदीपलाई काठमाडौंमा प्रहरीले यातना दिइरहेको आफूले खबर पाएको बलबहादुरको भनाइ छ ।
चुहिएको समाचार सत्य हो भने…
नेपाल प्रहरीलाई उद्धृत गर्दै उक्त पत्रिकामा छापेको समाचारलाई सत्य मान्ने हो भने प्रहरी फेरि एकपटक जालझेलमा उत्रेको सहजै अनुमान गर्न सकिन्छ । उक्त पत्रिकामार्फत प्रहरीले चुहाएका सूचनामा तमाम असंगति छन् । जसबाट प्रदीप र विशालसमेत सिकार बनेका देखिन्छन् । ती असंगति यस्ता छन् :
–१० साउन बिहानै हिरासतमा रहेका प्रदीपलाई प्रहरीले मुख्य अभियुक्तका रुपमा पेस गरेको छ । १० साउन ३ बजेको आसपास निर्मलाको हत्या भएको पोस्टमार्टम रिपोर्टमा उल्लेख छ । प्रदीप त्यति बेला वडा प्रहरी कार्यालयमै थिए ।
–प्रदीपकै बयानका आधारमा १० साउन अपराह्न ४ बजे विशाल आफ्नै घरबाट पक्राउ पर्छन् । ३ बजे निर्मलाको बलात्कार र हत्या गरी उनी घर गए । र प्रहरीले कुखुरा चोरीको आरोपमा उनलाई समात्यो भन्ने प्रहरीको निष्कर्ष देखिन्छ ।
–चुहाइएको समाचारअनुसार प्रहरीले प्रदीप र निर्मलालाई छिमेकी भनेको छ तर उनीहरु सहरी बस्तीको करिब तीन किलोमिटर दूरीमा बस्दै आएका छन् ।
–निर्मला र प्रदीपको परिचय भएको प्रहरीको दाबी छ । तर, यो दाबी गलत देखिन्छ ।
–प्रदीपले निर्मलाको साइकलको चेन फस्किएको र उनलाई सहयोग गरेपछि जबर्जस्ती गरेको बयान दिएको नयाँपत्रिकाले लेखेको छ । यही कथा दिलीप बिष्ट पक्राउ गर्दा पनि प्रहरीले निर्मलाको साइकलको चेन बिग्रेको कथा सुनाएको थियो । यो संयोगलाई मामुली ठान्न सकिँदैन ।
–प्रदीपले कहिल्यै होटलमा काम गरेनन् तर प्रहरीले पत्रिकालाई ‘महेन्द्रनगर र काठमाडौंका विभिन्न होटलमा काम गर्ने’ भनेको छ ।
–प्रदीप १० साउनपछि भारत गएको प्रहरीले दाबी गरेको छ तर उनी राजमार्गको राई ग्यारेजबाट दुई हजार बुझेर १० भदौमा काठमाडौं गए । काठमाडौंमा उनी हर्के राईसँगै बस्थे । –प्रदीप र विशाल दुवै लागुऔषध कुलतमा फसेका थिएनन् । कहिलेकाहीँ गाँजा र चुरोट सेवन गरे पनि औषधि सेवन नगर्ने उनीहरुका परिवार तथा साथीभाइले बताएका छन् । प्रहरीले भने उनीहरुलाई कुलतमा डुबेका भन्ने आशयको समाचार चुहाएको छ ।