हिजो गलत भनेर विरोध गरेको अध्यादेश आज सरकारमा हुँदैमा सही हुँदैन’ : शेखर काेइराला

होमल्याण्ड खबर

२०८१ फाल्गुन ८ गते, बिहीबार १५:२६ मा प्रकाशित

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारमा छौँ भन्दैमा प्रतिस्पर्धी एमालेको गुणगान गाएर नहुने टिप्पणी गरेका छन् ।कांग्रेस सुर्खेतले आयोजना गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै सरकारले गरेको गलत कामको खबरदारी गर्नु छाड्न नहुने बताए ।

सरकारबाहिर संयन्त्र बनाएर अघि बढ्दा कांग्रेसलाई नोक्सान हुने उनको बुझाइ छ। उनले सरकारले ल्याएको अध्यादेशको पनि विरोध गरे ।अध्यादेशले नै सरकार चलाउनु लोकतान्त्रिक चरित्र नहुने टिप्पणी गरे ।

उनले भने, ‘अध्यादेशमा दोहोरो चरित्र देखाउन हुँदैन । हिजो हामीले यस्तै प्रकृतिको अध्यादेश आउँदा विरोध जनायौँ । तर, अहिले कांग्रेसले होस् या अरू कसैले जसले ल्याएको भए पनि एक पटक गलत भनेको कुरा सधैँ गलत हुन्छ भन्ने कुरा बुझ्नुपर्छ । हिजो गलत थियो भने आज सही हुन सक्दैन । अध्यादेश ल्याउने संसद छल्ने, संयन्त्र बनाउने कम्युनिष्टहरुको संस्कारमा छ ।’

उनले राज्य शक्तिको दुरुपयोग गरेर एमाले सांसद लिलाबल्लभ अधिकारीलाई जोगाएकोप्रति आपत्ति जनाए ।

उनले भने, ‘न्यायाधिवक्ता र अधिवक्ताहरूलाई राज्यले अधिकार दिएको छ, संविधानले अधिकार दिएको छ । तर, त्यो अधिकारलाई दुरुपयोग गर्ने अधिकार उहाँहरूलाई छैन । घुस दिनेचाहिँ अहिले जेलमा हुनुहुन्छ, घुस लिने व्यक्ति मेरै जिल्लाको सांसद हुनुहुन्छ, उहाँलाई उन्मुक्ति छ । यस्ता कुरामा कांग्रेस सचेत हुनुपर्छ ।’