८ बैशाख २०८२, सोमबार
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने सरकारी तयारीको संसद्मा विरोध भएको छ ।
संसद्को शून्य समयमा बोल्दै माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले घिसिङलाई हटाउने सरकारी तयारीको विरोध गरेका हुन् ।
“बिहान बेलुकै कुलमानलाई हटाउने तयारी सुनिन्छ,” उनले सभामुखमार्फत सरकारलाई प्रश्न गरे, “उज्यालो नेपाल बनाएर के गल्ती गरे कुलमानले, विद्युत् प्राधिकरणलाई नाफामा लगेर के गल्ती गरे भारत र बङ्गलादेशमा बिजुली बेच्ने निर्णय गरेर के गल्ती गरे कुलमानले ?”
उनले कुलमानलाई हटाउने नभएर सम्मान गर्नुपर्ने बताए । फागुन ६ मा बसेको मन्त्रिपरिषद् बैठकमा ऊर्जामन्त्री दीपक खड्काले कुलमानलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने प्रस्ताव लगेका थिए । उनको प्रस्तावको गृहमन्त्री रमेश लेखकले विरोध गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पछि छलफलको प्रस्ताव गरेका थिए ।
मन्त्रिपरिषद्को बैठक आज पनि बस्दैछ । प्रधानमन्त्री ओलीले अपरान्ह पाँच बजे बालुवाटारमा मन्त्रिपरिषद् बैठक राखेका छन् । यस बैठकमा मन्त्री खड्काको कुलमानलाई हटाउने प्रस्तावबारे निर्णय लिने सम्भावना छ ।
लोडसेडिङको समयमा २४ घण्टासम्म विद्युत् प्रयोग गरेबापत उद्योगबाट असुल गर्नुपर्ने प्रिमियम महसुलको बक्यौता भुक्तानीका विषयलाई लिएर सरकार र कुलमानबीच दरार बढेको हो । प्रधानमन्त्री ओली र ऊर्जामन्त्री खड्का बक्यौतका सवालमा केही नरम भएपनि बक्यौता भुक्तानी गरेरै छाड्ने अडानमा कुलमान छन् ।