बस दुर्घटनामा १८ घाइते, धुलिखेलमा उपचार हुँदै

होमल्याण्ड खबर

२०८१ फाल्गुन १३ गते, मंगलवार १२:२९ मा प्रकाशित

बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–१० शारदाबतासमा आज बिहान बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् ।

काठमाडौंबाट ओखलढुङ्गाका लागि छुटेको बागमती प्रदेश–३–०१–००५ ख ९९४२ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई सडकको नालीमा पल्टिएको प्रहरीले जनाएको छ ।

उक्त बसमा चालक र सह–चालकसहित २४ जना सवार रहेकामा १८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिए।

जसमध्ये सात जनाको अवस्था मध्यम रहेको र अरू सबै सामान्य रहेको जनाएको छ । ​

घाइतेहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक घलेले बताए ।