महानगरको शैक्षिक मेला सुरु

होमल्याण्ड खबर

२०८१ फाल्गुन १६ गते, शुक्रबार १६:१२ मा प्रकाशित

काठमाडौं महानगरपालिकाको ‘काठमाडौं शैक्षिक मेला २०८१’ सुरु भएको छ । शुक्रबार सुरु भएको उक्त मेला राष्ट्रिय सभा गृह परिसरमा सञ्चालन भइरहेको छ । शनिबार पनि लाग्ने यो मेलामा विद्यार्थीले नवीनतम सिकाइ गतिविधि प्रदर्शन गर्ने महानगरले जानकारी दिएको छ ।

मेलामा बुक–फ्री फ्राइडेअन्तर्गतका ३५ वटा शैक्षिक उपसमूहका स्टलमार्फत रुचि र नतिजा प्रदर्शनमा छन् ।

मेलामा सामुदायिक विद्यालयले दिवा खाजाका रूपमा ३० रुपैयाँमा उपलब्ध गराउनेछ । यस्तै, नेपाल भाषाको सिकाइ विधि, मौलिक संस्कृति, भेषभूषा झल्काउने प्रदर्शनी, मौलिक वाद्यवादन तथा गायन प्रस्तुति रहेका छन् ।

उक्त शैक्षिक मेला तीन चरणमध्येको पहिलो चरणको कार्यक्रम हो । दोस्रो चरणमा चालु शैक्षिक सत्रको अन्तिम बुक–फ्री फ्राइडेका दिन (२३ फागुन २०८१) साझेदार र सरोकारवालाले आफू नजिकको सामुदायिक विद्यालयका कार्यक्रम अवलोकन गराउने योजना रहेको छ । तेस्रो चरणमा शैक्षिक क्रियाकलापका नवीनतम आयामका विषयमा पृष्ठपोषण लिन गोलमेच अन्तर्क्रिया आयोजना गरिने महानगरले जनाएको छ ।