९ जिल्ला सीडीओ विहिन, मन्त्रालयमा थन्किए २४ सहसचिव

होमल्याण्ड खबर

२०८१ फाल्गुन १८ गते, आईतवार १६:५२ मा प्रकाशित

राम्रो कानून व्यवसायी र विनयशील राजनीतिज्ञको छवि बनाएका गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालय चलाउने कुशलता देखाउन नसक्दा गृह प्रशासनमा भद्रगोल बढेको छ ।

मन्त्रीको सचिवालय प्रहरी प्रशासनको सरुवा तथा बढुवा व्यवस्थापन र चलखेलमा अल्झिएपछि मन्त्रालयको कर्मचारी प्रशासन लथालिङ्ग अवस्थामा पुगेको गृहका उच्च अधिकारीहरूले बताउन थालेका छन् ।

गृहमन्त्रीको जिम्मेवारीमा लेखक आइसकेपछि उनी र उनको सचिवालयले प्रहरीको सरुवा तथा बढुवामा ध्यान केन्द्रित गर्दा मन्त्रालयको कर्मचारी प्रशासन लथालिंग अवस्थामा पुगेको हो ।

मन्त्रालयमा मन्त्री लेखक एवम मन्त्रीको सचिवालयमा कार्यरत कर्मचारीसँग हेलमेल भएका सहसचिवलाई मन्त्रालयअन्तर्गत रहेका बलिया मानिएका निकायमा व्यवस्थापन सहजै हुने गरेको छ । तर मन्त्री र सचिवालयसँग नजिक नरहेका कतिपय सहसचिव भने ५ महिनादेखि मन्त्रालयको बरण्डामा छन् ।

एक दिन पनि खाली राख्न नहुने प्रमुख जिल्ला अधिकारी समेत केही जिल्लामा डेढ महिनादेखि पठाउन सकिएको छैन । तर, मन्त्रालयमा भने ५-५ जना सहसचिव ५ महिनादेखि जिम्मेवारी नपाएर हाजिर गर्दै बसेका छन् ।