कांग्रेस महाधिवेशन निर्धारित समयभित्रै गर्नुपर्छ, दायाँबायाँ हुनुहुँदैन : अर्जुननरसिंह केसी

होमल्याण्ड खबर

२०८१ फाल्गुन २० गते, मंगलवार १३:१८ मा प्रकाशित

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टीको १५औँ महाधिवेशन निर्धारित समयभित्रै गरिनुपर्ने बताएका छन् । उनले सकेसम्म ०८२ भित्र र नभए ०८४ का निर्वाचन प्रभावित नहुने गरी पहिले नै हुनुपर्ने बताएका हुन् ।

नेपाल प्रेस युनियन रुपन्देहीले गरेको पत्रकार सम्मेलनमा बोल्दै केसीले विशेष अवस्थामा ६ महिना थपे पनि चुनावलाई असर गर्ने भएकाले महाधिवेशन समयमै हुनुपर्ने धारणा राखे।

उनले निर्वाचनपछि महाधिवेशन गर्नु उपयुक्त नहुने र यसले पार्टीको वैधानिक अस्तित्वमा नै संकट आउने बताए। पार्टीभित्र समूहहरू बन्नु स्वाभाविक भए पनि स्वार्थका आधारमा बनेका समूहले पार्टी र देशलाई फाइदा नपुर्‍याउने उनको भनाइ छ।

संविधान संशोधनका लागि गठबन्धन दलभित्र मात्र होइन, बाहिरका विज्ञहरूको समेत सहभागितामा समिति बनाएर अघि बढ्नुपर्नेमा उनले जोड दिए। केसीले भ्रष्टाचार नियन्त्रणका लागि ५ सय र १ हजारका नोट ब्यान्ड गर्न र शक्तिशाली छानबिन आयोग बनाउनुपर्ने आवश्यकता औँल्याए।

उनले १४औँ महाधिवेशनमा रहेको समूहलाई नै अगाडि बढाउनुपर्ने बताउँदै आफू नेतृत्व गर्न तयार रहेको संकेत पनि गरे। कांग्रेसको अनुहार सरकारमा नदेखिएको भन्दै उनले लोकतान्त्रिक दुई पार्टीको सहकार्यमा बनेको सरकार सन्तोषजनक नभएको टिप्पणी गरे ।

संविधान संशोधनका विषयमा प्रधानमन्त्री केपी शर्माले झुक्क्याएको नेता केसीले बताए । ‘प्रधानमन्त्रीले कुन परिवेशमा ०८७ मा संशोधनको कुरा गर्नु भयो थाहा भएन तर सात बुँदे सहमतिको स्पिरिट विपरीत हो,यसो गरिनुहुँदैन’ उनले भने ।

नेता केसीले आफूले उठाएका एजेन्डामा अरू नेताहरू सहमत नभए नेतृत्वको लागि तयार भएको बताए ।