२६ फाल्गुन २०८२, मंगलवार
नवराजावादीका रूपमा उदाएका व्यवसायी दुर्गा प्रसाईँले पूर्वराजा ज्ञानेन्द्र शाहलाई वर्तमान सरकारले नजरबन्दमा राख्ने तयारी गरेको दाबी गरेका छन् ।
विश्वस्त सूत्रको हवाला दिँदै उनले सो दाबी गरेका हुन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै प्रसाईँले आफूलाई झूटा मुद्दा लगाएर पक्राउको तयारी भइरहेको जानकारी पाएको पनि उल्लेख गरेका छन् ।


उनले लेखेका छन्, ‘यस क्षणमा विभाजित होइन एकताबद्ध भएर राजसंस्था पुनः स्थापनाको आन्दोलनको आँधीबेहरी ल्याउन म सम्पूर्ण राष्ट्रभक्त नागरिकहरूमा आव्हान गर्दछु ।’
२५ गते अगाडि नै आफूलाई पक्राउ गरिने उनको अनुमान छ । ‘म रहुँला वा नरहुँला,मलाई हिरासत लैजाला वा बाहिरै रहुँला केहि छैन ।
२५ गते सरकारको सवारीमा यस्तो शक्ति प्रदर्शन गरौँ कि यी देश बेचुवाको सत्ता च्युत होस, नेपाललाई फेरी हाम्रो गौरवपूर्ण नेपाल बनाउने यात्रा शुभारम्भ होस ।’
आउँदो २५ गते पूर्वराजा पोखराबाट काठमाडौं फर्किँदा राजावादीहरूले शक्ति प्रदर्शनको तयारी गरेका छन् ।