कुलमानले आइतबार मात्रै स्पष्टीकरण बुझाउने

होमल्याण्ड खबर

२०८१ फाल्गुन २२ गते, बिहीबार १७:०४ मा प्रकाशित

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मन्त्रिपरिषद्ले सोधेको स्पष्टीकरण आइतबार बुझाउने भएका छन् ।

बुधवार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई ‘प्राधिकरणको कार्यकारी निर्देशकबाट किन नहटाउने ?’ भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद् बैठकले गरेको निर्णय अनुसार स्पष्टीकरण सोध्नका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई जिम्मेवारी दिएको थियो । ऊर्जामन्त्री दीपक खड्काले यस अघि नै २ बुँदे स्पष्टीकरण सोधिसकेका छन् ।

मन्त्रिपरिषद्ले स्पष्टीकरण सोध्ने निर्णय गरेको जानकारी आफूले पाएको कुलमानले बताए । उनले भने, ‘३ दिने स्पष्टीकरण सोधेको भन्ने कुरा आएको छ । तर, अहिलेसम्म पत्र आइपुगेको छैन । स्पष्टीकरणको पत्र आएपछि पत्रले माग गरेको जवाफ तयार गर्ने छु । पत्रको जवाफ तयार भएपछि आइतबार स्पष्टीकरण बुझाउने छु ।’

कुलमानको कार्यकाल अब ४ महिना बाँकी रहको छ । ४ महिना मात्रै कार्यकाल बाँकी रहे पनि सरकारले भने स्पष्टीकरण सोधेर प्राधिकरणबाट हटाउने तयारी गरेको छ ।