आज काठमाडाैंमा राजावादीहरूको शक्तिप्रदर्शन

होमल्याण्ड खबर

२०८१ फाल्गुन २५ गते, आईतवार १०:२१ मा प्रकाशित

एक महिनादेखि पोखरामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह राजधानी फर्किने छेको पारेर राजावादीहरूले शक्तिप्रदर्शन गर्न लागेका छन् ।

राजतन्त्रको वकालत गर्दै आएका दलहरू राप्रपा र राप्रपा नेपाल तथा राजावादी समूहहरूले शाहलाई त्रिभुवन विमानस्थलदेखि नारा–जुलुस गर्दै निर्मलनिवास पुर्‍याउने तयारी थालेका हुन् । अपराह्न विमानस्थलमा ओर्लिएपछि गौशाला, चाबहिल, महाराजगन्ज चोक हुँदै निर्मलनिवास पुर्‍याउने कार्यक्रम छ ।

पूर्वराजा शाहले प्रजातन्त्र दिवसका अवसरमा ७ फागुनमा एक भिडियो सन्देश जारी गरी दलहरू असफल भएको आरोप लगाउँदै एकता र समृद्धिका लागि आफूलाई साथ दिन आह्वान गरेका थिए । त्यसपछि राप्रपाले उनको समर्थनमा विभिन्न ठाउँमा प्रदर्शन गर्दै आएको छ ।

‘संवैधानिक राजसंस्थासहितको प्रजातन्त्रका लागि नवीन राजनीतिक समझदारीका लागि दबाब दिने हाम्रो उद्देश्य हो । ठूलो जनसमूहले आइतबार प्रदर्शन गर्नेछ । सरकार र सम्बद्ध पक्षले दबाब सुनेनन् भने आन्दोलनको बलियो आधार तयार हुने हाम्रो विश्वास छ,’ राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले भने, ‘नवीन समझदारी भनेको राप्रपाले प्रस्ताव गरेको शान्तिपूर्ण र राजनीतिक प्रस्ताव हो । यसमा हामी अघि बढ्नेछौँ।’

पूर्वराजाको सन्देशपछि राप्रपाले पोखरा, भैरहवा, नेपालगन्ज, धनगढी, जनकपुर, वीरगन्ज र काठमाडौंमा उनको पक्षमा प्रदर्शन र सभा गर्दै आएको छ । बुधबार बसेको राप्रपा पदाधिकारी (अध्यक्ष, उपाध्यक्ष र महामन्त्रीहरू) बैठकले पूर्वराजाको स्वागतमा त्रिभुवन विमानस्थलमा सहभागी हुन सबैलाई आह्वान गर्ने निर्णय गरेको थियो ।

पूर्वराजा आफैँले सबैलाई आह्वान गरेको अवस्थामा उहाँकै वरिपरि सबै गोलबद्ध हुनुपर्ने भन्ने सन्देश दिन प्रदर्शन गर्न लागिएको राप्रपाका एक पदाधिकारीले बताए ।

‘पूर्वराजा आफैँले सबैलाई आह्वान गरेको परिप्रेक्ष्यमा अब उहाँको वरिपरि सबै गोलबद्ध हुनुपर्छ भन्ने सन्देश दिन प्रदर्शन गर्न लागिएको हो,’ उनले भने ।

उनका अनुसार राप्रपाले राजा र हिन्दुराष्ट्र पुनस्र्थापनाको मुद्दामा सक्रिय दल र समूहसँग वार्ता र समन्वयका लागि वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको नेतृत्वमा महामन्त्री डा. धवलशमशेर राणासमेत रहेको कार्यदल पनि गठन गरेको छ ।