आफैँ सहभागी सरकारका काम कारवाही प्रति कांग्रेस असन्तुष्ट

होमल्याण्ड खबर

२०८१ चैत्र १० गते, सोमबार १०:५६ मा प्रकाशित

 नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका कामप्रति नेपाली कांग्रेस असन्तुष्ट देखिएको छ । आफैँ प्रमुख साझेदार रहेको सरकारको कामप्रति कांग्रेस असन्तुष्ट देखिएको हो ।

आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समिति बैठकमा कांग्रेस नेताहरूले सरकारको कामप्रति असन्तुष्टि जनाएका हुन् । बैठकमा धारणा व्यक्त गरेका नेताहरू फरमूल्लाह मन्सुर, महेन्द्र यादव, जीवन परियार, विमलेन्द्र निधि, अर्जुननरसिंह के.सी., डा.प्रकाशशरण महत, डा.शेखर कोइराला, बलबहादुर के।सी।, ज्ञानेन्द्रबहादुर कार्की, डा. नारायण खड्का, सुजाता कोइराला र एनपी साउदमध्ये अधिकांशले सरकारका कामको विरोध गरेका हुन् ।

सरकारको कामकारबाहीबारे विरोध भएपनि पार्टीले जनताका मन छुने कार्यक्रम ल्याउन तथा कांग्रेस र एमाले सम्मिलित सरकार सञ्चालन कार्यदलसँगको समन्वयमा नयाँ कार्यक्रम ल्याउन पार्टीका मन्त्रीहरूलाई निर्देशन दिएको पूर्वउपसभापति गोपालमान श्रेष्ठले जानकारी दिए ।

नेताहरूको असन्तुष्टिपछि सभापति शेरबहादुर देउवाले बैठकमा कार्यसम्पादन समिति सदस्यका हैसियतमा सहभागी उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेलाई कार्यदलसँग समन्वय गरी जनताको मन छुने नयाँ कार्यक्रम ल्याउन निर्देशन दिएको उनको भनाइ छ ।

‘सरकारमा काममा व्यापक सुधार गर्नुपर्ने आवश्यकता देखियो । बैठकमा सहभागी उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेलाई कार्यदलसँग समन्वय गरी नयाँ जनताको मन छुने, देखिने गरी जनतालाई विकासको अनुभूति हुने कार्यक्रम ल्याउन निर्देशन भएको छ,’ श्रेष्ठले रातोपाटीसँग भने, ‘जनतामा काम भएन भन्ने आक्रोश छ । दुई ठूला दलको सरकार भएपछि जनताले अनुभूत गर्ने विकास दिनुपर्छ । त्यसका लागि कार्यदलसँगको सहकार्यमा नयाँ कार्यक्रम घोषणा गर्नू भनेर भनेका छौँ ।

सरकार सञ्चालनका लागि गठित संयन्त्रमा कांग्रेसका तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री लेखक र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा छन् । एमालेका तर्फबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष एवं उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल तथा उपमहासचिव एवं प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल छन् ।

कांग्रेसबाट संयन्त्रमा रहेका र बैठकमा उपस्थित भएका नेताहरूलाई पनि बैठकले विकासको नयाँ मोडलसहितका योजना जनताले अनुभूति गर्नेगरी ल्याउन प्रस्ताव तयार गरेर विकासे मन्त्रालयलाई दिन निर्देशन दिएको छ ।