८ बैशाख २०८२, सोमबार
गत वर्ष निकै विवादित भएपछि कार्यान्वयनबाट पछि हटेको सरकार फेरि इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने तयारीमा जुटेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्देशनमा यातायात व्यवस्था विभागले इम्बोस्ड नम्बर प्लेट बिउँताउने तयारी गरेको हो ।
विभागका निर्देशक श्रीकान्त यादवका अनुसार यसका लागि विभागले प्रदेशका सम्बन्धित यातायात कार्यालय तथा सवारीसाधन आयातकर्ता कम्पनी तथा डिलरहरूलाई पत्र पठाउन थालिएको छ ।
‘सरकारलाई भन्दा पनि इम्बोस्ड नम्बर प्लेट जडान सवारी धनीलाई फाइदा हुने भएकाले त्यहीअनुसार सचेत गराउने पनि तयारी छ । अहिले हामीले सवारी बेच्ने कम्पनीलाई पत्राचार गर्दै छौँ’ उनले भने, ‘कम्पनीहरूले पहिलो नामसारी गर्दा अर्थात् कम्पनीले उपभोक्तालाई सवारीसाधन बेच्दा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न भनेका छौँ ।’
चालु आर्थिक वर्ष सुरु भएसँगै प्रदेशबाट नयाँ सवारी साधन दर्ता र नामसारी गर्दा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने सरकारले तयारी गरेको थियो । तर कार्यान्वयन गर्न नसक्दा आजसम्म पनि लागु हुन सकेको छैन । सरकारले नयाँ सवारीसाधन दर्ता, नामसारी र नवीकरणमा समेत अनिवार्य गर्ने गरी तयारी गरेको यातायात व्यवस्था विभागले जनाएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले २०७८ कात्तिक २२ मा राजपत्रमा प्रकाशन गर्दै २०७८ को मंसिर १ देखि नाम टुङ्गिएका सबै प्रदेशमा इम्बोस्ड नम्बर प्लेट लागु गर्ने सूचना जारी गरेको थियो ।
अहिले सातै प्रदेशको समेत नाम टुंगिएकाले सबै प्रदेशमा अनिवार्य गर्ने तयारी सरकारको छ । २०७८ को राजपत्रमा प्रकाशन भएको सूचना अहिलेसम्म कुनै पनि प्रदेशमा अनिवार्य हुन सकेको छैन ।
इम्बोस्ड नम्बर जडानका लागि २०७३ जेठ १९ मा बङ्गलादेश र अमेरिकाको डेकाटुर–टाइगर आईटी कम्पनीले ज्वाइन्ट भेन्चरले ठेक्का पाएको थियो । उक्त सम्झौताअनुसार पाँच वर्षभित्र २५ लाख सवारीमा इम्बोस्ड नम्बर जडान गरिसक्नुपर्ने थियो । तर सम्झौता भएको मिति नौ वर्ष बितिसकेको छ तर पनि कार्यान्वयन हुन सकेको छैन ।
विभागका अनुसार पाँच वर्षभित्रै २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गरी हस्तान्तरण गर्नुपर्ने सम्झौता भएको थियो । तर कम्पनीले नौ वर्षसम्म काम गर्न नसक्दा पटक–पटक म्याद थप हुँदै आएको छ ।
पछिल्लो नौ वर्षमा नेपालमा करिब २५ लाख सवारीसाधन थपिएका छन् । करिब ६५ लाखभन्दा बढी सञ्चालनमा छन् ।
विभागका निर्देशक यादवका अनुसार कम्पनीले अहिलेसम्म करिब ७७ हजार सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गरेको छ । कम्पनीले पाँच लाख इम्बोस्ड नम्बर प्लेट छपाई गरेर विभिन्न यातायात कार्यालयमा पुर्याएर राखिएको उनले बताए ।
इम्बोस्ड नम्बर जडानका विषयमा प्रदेशसँग समन्वय गरिएको विभागले जानकारी दिएको छ । एक अधिकारीका अनुसार विभागले तीव्र रूपमा जडान गर्ने तयारी गरे पनि प्रदेश यातायात कार्यालयबाट असहयोग भएको छ । केही ठाउँमा कमजोरी भएकाले आवश्यक पूर्वाधार तयार गर्न विभाग लागेले उनले बताए ।