शिक्षकहरूलाई प्रधानमन्त्रीको आह्वान: सडकमा सुत्न पर्दैन, वार्तामा आउनुस्

होमल्याण्ड खबर

२०८१ चैत्र २४ गते, सोमबार १५:०९ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षक आन्दोलनप्रति टिप्पणी गर्दै जायज माग लिएर वार्तामा आए सम्बोधन गर्न तयार रहेको बताएका छन्।

सोमबार हिमालयन डायलगलाई सम्बोधन गर्ने क्रममा उनले शिक्षकहरूलाई सडकमा दुःख नपाउन र आन्दोलन नगरी कुराकानीबाट समाधान खोज्न आह्वान गरेका हुन्।

उनले भने, “अहिले शिक्षक आन्दोलन चलिरहेको छ, किन चलाउनुभएको हो मलाई थाहा छैन। म प्रधानमन्त्री छु, म भनिरहेको छु- जायज माग लिएर आउनुहोस्, आन्दोलन गर्नुपर्दैन, हामी सम्बोधन गर्न तयार छौं।”

प्रधानमन्त्री ओलीले शिक्षकहरूलाई सडकमा गएर सुत्नु नपर्ने र दुःख नपाउने गरी सरकारसँग संवाद गर्न सुझाए। “आउनुस्, कुरा गरौं, त्यसको समाधान गरौं,” उनले थपे, “उहाँहरू कुराकानीमा आउनुहोला, हामी यथोचित ढंगले सम्बोधन गर्छौं।”