६ बैशाख २०८२, शनिबार
सूर्यज्योति लाइफ इन्स्योरेन्सले सूर्यज्योति केयर्स डिजिटल कार्डको सुरुवात गरेको छ। कम्पनीले डिजिटल कार्डमार्फत आफ्ना बीमित तथा अभिकर्ताहरूलाई सुविधा दिने उद्देश्यले सेवाको सुरु गरेको हो।
कम्पनीले तोकेका केही मापदण्ड पूरा गरेका बीमित तथा अभिकर्ताहरूलाई सूर्यज्योति मोबाइल एप मार्फत सूर्यज्योति केयर्स डिजिटल कार्ड प्रदान गरिने छ। सो डिजिटल कार्डको माध्यमबाट कम्पनीसँग सम्झौता भएका विभिन्न सेवा प्रदायक संस्थाहरूबाट आफूले उपभोग गर्ने सेवामा विशेष छुट तथा सुविधा प्राप्त गर्न सकिने व्यवस्था गरेको कम्पनीले जनाएको छ।
यसका लागि कम्पनीद्वारा विभिन्न क्षेत्रका संस्थाहरू जस्तै अस्पतालहरू, स्वास्थ्य परीक्षण प्रयोगशालाहरू, होटलहरू, शैक्षिक संस्थाहरू, डिपार्टमेन्ट स्टोर लगायत थुप्रै सेवा प्रदायक संस्थाहरूसँग सम्झौता गरिएको छ।
यस सुविधाका लागि बीमित तथा अभिकर्ताद्वारा कम्पनीले तोकेको अनुसार मापदण्ड पूरा गरेको र सूर्यज्योति मोबाइल एपमा रजिस्टर भएको हुनु पर्छ। सूर्यज्योति केयर्सको सुविधा, त्यसको प्रयोग, साझेदार संस्थाहरूको नाम र सो संस्थाहरूबाट पाइने सहुलियत तथा छुट बारे सम्पूर्ण जानकारी सूर्यज्योति मोबाइल एप वा सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको आधिकारिक वेबसाइटबाट लिन सकिने छ।
कम्पनीले बीमितहरूलाई अझ थप सरल तथा सहज किसिमले सेवा दिने हेतुले बीमालेख बापत प्राप्त हुने कर्जा सम्बन्धी नयाँ प्रविधिमैत्री अनलाइनमार्फत लोन लिन सकिने ए कर्जा पनि प्रस्तुत गरेको छ।
जीवन बीमा कम्पनीहरूबाट जारी हुने बीमालेखको शर्त तथा सुविधा अनुसार बीमा जारी मितिबाट ३ वर्ष पुरा भई ३ वर्षको बीमाशुल्क प्राप्त भएपश्चात बीमालेख अन्तर्गत कर्जा रकम दिइने प्रावधान रहेको छ। ३ वर्ष पश्चात बीमालेखमा जम्मा हुने नगद मुल्य रकम बाट बीमितको आवश्यकता अनुसार उक्त रकमको अधिकतम ९० प्रतिशत सम्म कर्जा लिन सकिने प्रावधान रहेको छ।
कर्जा प्राप्त गर्नका लागि हाल कम्पनीहरूमा विद्यमान रहेको प्रक्रिया अनुसार बीमितले नजिकको शाखा कार्यालय गई कम्पनीले तोकेको फारमहरू भरि आवश्यक कागजात सहित कर्जाको लागि आवेदन दिनु पर्ने र आवेदन दिएको मितिबाट १ वा २ दिन भित्र बीमा कम्पनीद्वारा बीमितको बैंक खातामा कर्जा रकम जम्मा गरिदिने गरेको छ।
यस प्रविधि अनुसार अब बीमितहरूलाई आफ्नो बीमालेख वापत कर्जा लिन चाहेमा अनलाइन मार्फत जुनसुकै समयमा र जुनसुकै ठाउँबाट सहज र सरल किसिमले कर्जाको लागि अवेदन दिन सकिने र एक क्लीकमा रियल टाइममा नै आफ्नो खल्ती वालेट मार्फत कर्जा रकम प्राप्त गर्न सकिने छ प्राबधान रहेको छ। यस अनलाइन प्रक्रिया मार्फत हाललाई कर्जा रकम अधिकतम ५० हजारसम्म मात्र प्राप्त गर्न सकिने छ।
सूर्यज्योति लाइफका प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्रीले सूर्यज्योति केयर्स डिजिटल कार्ड र ई- कर्जाका फाइदाहरू, यसका मापदण्ड र सेवा लिने विधिका बारेमा विस्तृत जानकारी दिएका छन्।
कम्पनीले स्थापना कालदेखि नै विभिन्न नवीनतम प्रविधिहरूको प्रयोग गरी आफ्ना ग्राहकहरूलाई सेवा दिँदै आइरहेको छ।