६ बैशाख २०८२, शनिबार
नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।
सुनको मूल्य आज एकैदिन तोलामा ५ हजार ७०० रुपैयाँले बढेसँगै अहिलेसम्मकै महँगो बनेको हो ।
आज सुनको मूल्य तोलाको १ लाख ८१ हजार १०० रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि चैत २१ गते सुनको मूल्य प्रतितोला १ लाख ८० हजार ३०० रुपैयाँमा कारोबार हुँदै रेकर्ड राखेको थियो । तर आज त्यसमा ८ सय रुपैयाँ थपिँदै अहिलेसम्मकै महँगो भएको हो ।
बुधबार सुन प्रतितोला १ लाख ७५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि तोलामा ६५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ९०० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला एक हजार ८३५ रुपैयाँमा कारोबार भएको थियो ।
विश्वबजारमा सुनको मूल्यमा आएको बढोत्तरीको असर आज नेपाली बजारमा देखिएको हो । व्यावसायीहरुका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पारस्पारिक भन्सार दर ९० दिनलाई स्थगित गरेपछि त्यसको असर विश्व सुन बजारमा परेको बताउँछन् ।