६ बैशाख २०८२, शनिबार
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक हुने विहीबारका दिन नै सांसद समेत रहेकी सुमना श्रेष्ठले सह–महामन्त्री पदबाट राजीनामा दिएको विवरण सतहमा आएको छ।
यद्यपि श्रेष्ठ आफैंले भने राजीनामा विषयमा भने आधिकारिक जानकारी दिएकी छैनन्। उनले राजीनामाको विषय केन्द्रीय समितिको बैठकमा खुलाउने भएकी छन्।
रवि लामिछाने पछिल्लो पल्ट पार्टीमा फर्किएकै दिनमा उनले राजीनामा बुझाएको बताइन्छ।
‘उहाँले सभापतिलाई नै राजीनामा दिनुभएको हो’, स्रोतले भन्यो,‘सभापति हिरासतमा रहेका कारण राजीनामा दिन पाउनुभएको थिएन, अहिले दिनुभएको छ।’
लामिछाने सहकारी प्रकरणमा मुछिएपछि रास्वपाभित्र तीव्र विवाद चुलिएको छ।
सुमनाले राजीनामा दिनुको मुख्य कारण तलदेखि माथिसम्म एक व्यक्ति एक पदको धारणा कार्यान्वयनमा नगएको बताइन्छ।
एक व्यक्ति एक पदको नीति पार्टीमा माथिदेखि तलसम्मै कार्यान्वयन हुनुपर्ने धारणा उनको रहेको छ।
आफू संसद्मा केन्द्रित रहनुपर्ने भएकाले पनि पार्टीको सह–महामन्त्रीको जिम्मेवारीमा रहन नसक्ने तर्कसहित पार्टीको पद त्याग गरेको सुमनाको भनाई रहेको बुझिन्छ।