शिक्षक महासंघद्वारा संस्थागत विद्यालयसमेत बन्द गरी आन्दोलनमा आउन आग्रह

होमल्याण्ड खबर

२०८२ बैशाख ७ गते, आईतवार ०९:५५ मा प्रकाशित

नेपाल शिक्षक महासङ्घले शैक्षिक आमहड्तालको अभियानलाई सफल तुल्याउन संस्थागत विद्यालयहरूसमेत बन्द गरी साथ दिन सम्बन्धित सबैमा आग्रह गरेको छ ।

महासंघले एक विज्ञप्ति जारी गरी शैक्षिक आन्दोलन उत्कर्षमा पुगेकाले  विगतका सबै सहमति सम्बोधन गरी गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन अविलम्ब जारी गर्न राज्यलाई बाध्य पार्न विद्यालय बन्द गरी आन्दोलनमा आउन आह्वान गरेको हो ।

महासंघले आन्दोलन अवधिमा विद्यालय खोल्ने, प्रवेश परीक्षा र ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने, उत्तरपुस्तिका परीक्षण गर्ने, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण लगायतका कुनै पनि क्रियाकलापमा संलग्न नहुन पनि सबै शिक्षकहरूलाई आग्रह गरेको छ ।यस्तै, यही वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा कुनै पनि हिसाबमा संलग्न नहुन समेत महासंघले अनुरोध गरेको छ ।

महासंघले आन्दोलनलाई साथ दिन सम्पूर्ण अभिभावक, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति, गाउँ तथा नगरपालिका एवं सबै शैक्षिक सरोकार पक्षसँग पनि आग्रह गरेको छ ।