९ मंसिर २०८१, आईतवार
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा निजी लगानीमा १२ करोडको प्रदेशस्तरीय दुग्ध उधोग निर्माण गर्न थालिएको छ । काभ्रेस्थित धुलिखेल नगरपालिकाका उधोगी माधव धिताल र पाँचखाल नगरपालिकाका उधोगी जयकृष्ण आचार्यको संयुक्त लगानीमा १२ करोडको लगानीमा प्रदेशस्तरीय उधोग निर्माण गर्न थालिएको हो ।
सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१२ स्थित औद्योगिक क्षेत्रको दुई रोपनी जग्गा ४० वर्षका लागि लिजमा लिएर दुग्ध उधोग निर्माण अघि बढाइएको उधोग धितालले जानकारी दिए । “गत वर्षको मङ्सिरदेखि उधोग निर्माण शुरु गरिएकामा अब तीन महीनाभित्रै निर्माण पूरा गरी सञ्चालनमा ल्याउँछौँ”, उनले थपे, “हाल बजारको माग झण्डै सात हजार लिटर छ तर दुई हजार लिटर अझै अपुग छ । पच्चिस वर्षदेखि दुग्ध व्यवसाय गर्दै आएका उधोगीद्वयले हाल काठमाडौंमा दैनिक १५ हजार लिटर दूध आपूर्ति गर्ने गरेको बताए ।
अहिले यहाँका पशुपालक किसानबाट दूध सङ्कलन गरेर सम्भव नहुने भएकाले बुटबलबाट ल्याएर भए पनि प्रतिदिन दुई हजार लिटर बजारमा पुर्याइने जानकारी दिँदै उनले आगामी दिनमा उधोगले कर्णाली प्रदेशमा दैनिक १५ हजार लिटर दूध बजारमा पुर्याउने लक्ष्य राखेको छ बताए ।
कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले बुधबार निर्माणाधीन उधोग अवलोकन गरी प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बचन दिए । कानूनमन्त्री भण्डारी प्रदेशस्तरीय छापाखानाको सम्भावित क्षेत्र, त्यसको दिगोपन तथा सुरक्षा अवस्था र कृषिमन्त्री केसी निर्माणाधीन दुग्ध उद्योगलगायत कृषिसँग सम्बन्धित उधोग अवलोकन गर्न औद्योगिक क्षेत्रमा पुगेका थिए ।