हामी जे गर्छौं भनेरै गर्छौं, सरकारले नडराए हुन्छ : राजेन्द्र लिङ्देन

होमल्याण्ड खबर

२०८२ बैशाख ७ गते, आईतवार १०:५० मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आजको आन्दोलन जनतालाई यतिमात्र बोल भनेर सीमा तोक्ने सरकारी निरङ्कुशतन्त्र विरुद्धको प्रतिकात्मक र शान्तिपूर्ण प्रदर्शन भएको बताएका छन् ।

सरकारले निषेधित क्षेत्र नतोड्न दिएको आदेशप्रति संकेत गर्दै उनले सामाजिक सञ्जालमार्फत आजको आन्दोलन सरकारी निरङ्कुशतन्त्र विरुद्धको प्रतिकात्मक र शान्तिपूर्ण प्रदर्शन भएको बताएका हुन् । जहाँ राप्रपाका सीमित नेताहरू मात्रै सहभागी हुने उनको भनाई छ ।

उनले भनेका छन्, ‘आज राप्रपाले गर्ने प्रदर्शन भनेको…भन्नलाई प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र भन्ने तर जनतालाई यति मात्र बोल यो यो मात्र बोल, अनि यो बाटो मात्र हिँड, यहाँभन्दा एक इन्च पनि यता नआउ भनेर सीमा तोक्ने सरकारी निरङ्कुशतन्त्रको विरुद्धको प्रतिकात्मक र शान्तिपूर्ण प्रदर्शन हो । जहाँ हामी सीमित नेताहरू मात्रै सहभागी हुनेछौँ ।’

राप्रपा मुलुकको वैचारिक पार्टी भएको बताउँदै उनले जे गरेपनि जानकारी दिएरै गर्ने भन्दै नडराउन सरकारलाई आग्रह गरेका छन् । ‘वैचारिक दृष्टिकोणले राप्रपा मुलुकको प्रमुख प्रतिपक्ष पार्टी हो, हामी जे गर्छौं भनेरै गर्छौं। सरकारले नडराए हुन्छ,’ उनले भनेका छन् ।