अत्यावश्यक सवारी चालक अनुमतिपत्र छपाइ अनिश्चितकालका लागि बन्द

होमल्याण्ड खबर

२०८२ बैशाख २८ गते, आईतवार १३:३३ मा प्रकाशित

यातायात व्यवस्था विभागले अत्यावश्यक सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ कार्य अनिश्चितकालका लागि बन्द गरेको छ । आइतबार एक सूचना जारी गर्दै विभागले प्रिन्टिङ प्रणालीमा समस्या देखिएकाले गत वैशाख २५ गतेदेखि नै छपाइ कार्य रोकिएको जानकारी दिएको हो ।

विभागका अनुसार अध्ययन तथा रोजगारीका लागि विदेश जाने नेपाली नागरिक, शान्ति सेना मिसनका लागि खटिने नेपाली सेना तथा नेपाल प्रहरीका सदस्य र गैरआवासीय नेपाली नागरिकका लागि यस्तो अत्यावश्यक लाइसेन्स छपाइ हुँदै आएको थियो ।

“विभागको प्रिन्टिङ प्रणालीमा समस्या देखिएको र सो समस्या समाधानका कार्य भैरहेको हुँदा अर्को सूचना प्रकाशन नहुँदासम्मका लागि अत्यावश्यक चालक अनुमतिपत्र छपाई कार्य बन्द गरिएको छ,” विभागले जारी सूचनामा उल्लेख छ ।

प्रणालीमा देखिएको समस्या समाधान भएपछि छपाइ कार्य पुनः सुचारु गरिने विभागले जनाएको छ । तर, कहिलेसम्ममा समस्या समाधान हुने भन्नेबारे केही खुलाइएको छैन ।