२६ फाल्गुन २०८२, मंगलवार
नागरिक उन्मुक्ति पार्टी नाउपाले सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीको लागि कैलाश चौधरीलाई सिफारिस गरेको छ । कैलाली क्षेत्र १ को क बाट प्रत्यक्ष निर्वाचित चौधरीलाई पार्टी अध्यक्ष रन्जिता श्रेष्ठले मन्त्रीका लागि सिफारिस गरेकी हुन् ।
मङ्गलवार धनगढीमा बसेको नागरिक उन्मुक्ति पार्टी संसदीय दलको बैठकले मन्त्रीको सन्दर्भमा केन्द्रबाट निर्णय दिन एक साताको समय सीमा तोकेको थियो ।प्रदेश संसदीय दलले एक साता भित्र मन्त्रीको नाम दिन नसक्ने अवस्थामा संसदीय दललाई अधिकार प्रत्यायोजन गर्न भन्दै सर्वसम्मत निर्णय गरिएको थियो ।


संसदीय दलका नेता घनश्याम चौधरीले पत्र सङ्ख्या २०८१/०८२ चलानी नम्बर १३ मा निर्णय सम्बोधन गरी जानकारी पठाइदिने भन्दै पार्टी अध्यक्षलाई पत्र पठाएका थिए । सोही पत्रको आधारमा रन्जिताले कैलाश चौधरीलाई मन्त्रीमा सिफारिस गरेको जानकारी संसदीय दलका नेता चौधरीलाई गराइसकेकी छन् ।
‘सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्री सिफारिसका लागि केन्द्रबाट आधिकारिक पत्र पठाइदिन अनुरोध भई आए बमोजिम सुप प्रदेशको पर्यटन वन तथा वातावरण मन्त्रीमा कैलाली क्षेत्र नम्बर १ क बाट निर्वाचित प्रदेश सभा सदस्य श्री मा। कैलाश चौधरी ज्यूलाई पार्टीको निर्देशन बमोजिम कामकाज गर्न भनी सिफारिस गरिएको जानकारी गराउँदछु ’ अध्यक्ष रन्जिता श्रेष्ठले संसदीय दलका नेता घनश्याम चौधरीलाई पठाएको पत्रमा भनिएको छ ‘साथै सोही अनुसार गर्न गराउन हुन निर्देशन गरिएको ब्यहोरा सम्पूर्णमा अनुरोध छ ।’
विवादित अडियो संवाद सार्वजनिक भएपछि उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लक्ष्मण किशोर चौधरीले चैत्र १६ गते राजीनामा दिएका थिए । नागरिक उन्मुक्तिबाट मन्त्री भएका लक्ष्मण किशोर चौधरीले राजीनामा दिएको डेढ महिनासम्म पनि नाउपाले अर्को मन्त्री पठाउन सकेको थिएन ।
संरक्षक रेशम चौधरी, अध्यक्ष रन्जिता श्रेष्ठसहित धनगढीको एक होटेलमा बसेको सङ्घीय सांसदसहितको बैठकले मन्त्रीको नाम पठाउने जिम्मा अध्यक्षलाई दिने निर्णय गरेको थियो । त्यसपछि पनि नाम सिफारिस नभएपछि मङ्गलवार संसदीय दलले एक साताको समय सीमा तोकेको थियो ।
नाउपा अध्यक्षले प्रदेश संसदीय दलको निर्णय अनुसार मन्त्रीको नाम प्रदेश संसदीय दलका पठाइसकेको जानकारी मुख्यमन्त्री कमल बहादुर शाहको सचिवालयमा समेत जानकारी गराइसकेको उनी निकट स्रोतले जानकारी दिएको छ ।
‘प्रदेश संसदीय दलले पठाएको पत्र अनुसार अध्यक्ष ज्यूले मन्त्रीमा माननीय कैलाश चौधरी ज्यूको नाम सिफारिस गर्नु भएको छ । त्यो जानकारी मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पनि भइसकेको छ’ स्रोतले भन्यो ‘प्रदेश संसदीय दलले अध्यक्ष ज्यूलाई नाम मागेर अध्यक्ष ज्यूले नाम दिइसकेपछि अब मन्त्री नियुक्तिमा ढिलाइ हुँदैन ।’