गभर्नर नियुक्ति प्रकरणले सरकार ढल्ने अवस्थामा पुग्यो : वर्षमान पुन

होमल्याण्ड खबर

२०८२ जेष्ठ ७ गते, मंगलवार १४:४० मा प्रकाशित

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले वर्तमान सरकार ढल्ने अवस्थामा पुगिसकेको बताएका छन् । मंगलबार पोखरामा पत्रकारहरूसँग कुरा गर्दै उनले वर्तमान केपी ओली नेतृत्वको सरकार ढलेमा नयाँ सरकारको नेतृत्व कांग्रेसले गर्नपर्ने बताए ।

‘सरकार ढल्यो भने पहिलोले दाबी गर भनेका छौँ । तेस्रो पार्टीले १८ महिना सरकार चलाएर रेकर्ड बनाएका छौँ, दोस्रोले पनि १ वर्ष चलाएको छ’, उनले भने, ‘अब पहिलोलाई बहुमत एमाले र माओवादी विना पनि पुग्छ । पहिलोले नेतृत्व दाबी गर भन्ने हाम्रो भनाइ हो । बहुमत नै पुगेन भने हामी सोच्छौँ ।’

पहिलो पार्टीले सरकार नचलाए फ्रेस म्यान्डेटका लागि जनतामा जानु उपयुक्त हुने उनको सुझाव छ । कांग्रेस र एमालेले एक अर्कालाई तर्साउन माओवादीसँग संवाद भएको हल्ला गरिएको भन्दै उनले त्यस्तो हल्लामा कुनै सत्यता नरहेको बताए ।

उनले वर्तमान सरकार माओवादीका कारण नभई आफ्नै कारण ढल्ने पनि दाबी गरे । गभर्नर नियुक्ति प्रकरणले सरकार ढल्ने अवस्था बनेको पनि पुनको भनाइ थियो ।

उनले अहिले चर्चा गरिएका व्यक्तिहरू गभर्नर नियुक्त नहुने पनि तर्क गरे । ‘गभर्नर खाली हुनुभन्दा १ महिना अघि नयाँ गभर्नर सिफारिस हुनुपर्थ्यो । अहिले रिक्त भएको २ महिनासम्म नियुक्ति हुन सकेको छैन’, उनले भने, ‘अहिले चर्चा गरिएका मान्छे पनि नियुक्त हुँदै छैनन् । किनकि उनी पनि बिचौलियाले रुचाइएका व्यक्ति होइनन् । यही कारण सरकार ढल्नेजस्तो भइरहेको छ ।’

सरकार बिचौलियाले नै सञ्चालन गरिरहेको पुनले दाबी गरे ।