९ जेष्ठ २०८२, बिहीबार
सांसदले मनसुनअघि नै विपद् जोखिम न्यूनिकरण गर्न पूर्वतयारी गर्नुपर्नेमा जोड दिएका छन्। राष्ट्रियसभा, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा उनीहरुले मनसुनजन्य विपद्बबाट हुन सक्ने सम्भावित क्षति न्यूनिकरण गर्न तयारी थाल्नुपर्नेमा जोड दिएका हुन्। विपद् व्यवस्थापन (विपद्) जोखिम न्यूनीकरण, विपद् प्रतिकार्य र विपद् पुनर्लाभ) सम्बन्धमा भएका काम कारबाही, विपद् जोखिम न्यूनीकरणको लागि तयारी तथा भावी कार्ययोजना सम्बन्धमा बैठक बसेको थियो।
समितिका सभापति सोनाम गेल्जेन शेर्पाले विपद् व्यवस्थापनसम्बन्धी सरकारी नीति तथा योजनाको प्रभावकारी कार्यन्वयन हुनुपर्ने सुझाव दिए। विपद् व्यवस्थापन गर्न समन्वय बढाउनुपर्ने, सुरक्षाका सामग्रीको व्यवस्थापन, समयमा नै राहत व्यवस्थापन, छिटो र सहजरूपमा राहत र उद्धार गर्न स्थानीय तहलाई सक्रिय बनाउनुपर्ने तथा स्थानीय राहत कोषमा रकम पठाउदा प्रभावकारी र छिटो हुने उनको भनाइ छ।
सांसद जगप्रसाद शर्माले सूचना प्रविधिको सदुपयोग गर्दै विपद् जोखिम न्यूनिकरण गर्नुपर्ने सुझाव दिए। विपद्का जोखिम भएका बस्तीका मानिसलाई अनेत्र व्यवस्थापन गर्नुपर्नेमा उनको जोड रहेको छ।
यसैगरी सांसद इन्दिरादेवि गौतमले विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाको प्रभावकारी कार्यन्वयनमा जोड दिए। सांसद उदयबहादुर बोहोराले समयमा नै उद्धार र राहत उपलब्ध गराउने गरी तयारी थाल्नुपर्ने सुझाव दिए।
राष्ट्रिय जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले यस वर्ष औसतभन्दा बढी वर्षा हुने भन्दै विपद् प्रतिकार्य तथा पूर्वतयारीका लागि कार्य गर्नुपर्ने र तीनै तहका सरकारबीचको समन्वय बढाउनुपर्नेमा जोड दिए।