१६ जेष्ठ २०८२, बिहीबार
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको १५ जेठमा आयोजित कार्यक्रमलाई बिथोल्न खोजेको आरोप लगाएका छन् । मङ्गलवार सम्पादकहरूसँगको छलफलमा लिङ्देनले यस्तो दाबी गरेका हुन् ।
“प्रधानमन्त्रीले हाम्रो १५ जेठको कार्यक्रमलाई असफल बनाउन खोजिरहेका छन् । उनको अभिव्यक्ति यति गम्भीर छ कि या त त्यसलाई सच्याउनुपर्छ, या त उनले राजीनामा दिनुपर्छ,” लिङ्देनले भने ।
उनले सरकारले संविधानप्रदत्त स्वतन्त्रतालाई दबाउन खोजेको पनि आरोप लगाए । “हामीले रत्नपार्कमा कार्यक्रम आयोजना गर्न लाग्दा प्रधानमन्त्रीको पार्टीले सोही स्थानमा कार्यकर्ता उतारेर झडप निम्त्याउन खोजेको छ । पत्रकारहरूले यो विषयमा निष्पक्ष रूपमा समाचार सम्प्रेषण गरिदिनुपर्छ,” उनले भने ।
राप्रपाले १५ जेठमा राजतन्त्र पुनःस्थापनाको मागसहित आन्दोलन घोषणा गरेको छ । सोही दिन प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंमा एमालेको प्रभाव कायम राख्न कार्यकर्तालाई तयारी गर्न निर्देशन दिएका थिए ।