तरुण दलमा भाँडभैलो, महाधिवेशन अनिश्चित बनेको भन्दै असन्तुष्टि

होमल्याण्ड खबर

२०८२ जेष्ठ २४ गते, शुक्रबार १६:२० मा प्रकाशित

तरुण दलका अध्यक्ष विद्वान गुरुङले सङ्गठनलाई मागीखाने भाँडो बनाएको भन्दै असन्तुष्ट पक्ष विरोधमा उत्रिएको छ । काठमाडौंमा पत्रकार सम्मेलन गरेर असन्तुष्ट नेताहरूले पार्टी नेतृत्वको ध्यानाकर्षण गराउनको लागि सडकमा उत्रिएका हुन् ।

तरुण दलको केन्द्रीय सदस्य रोजन राईले अध्यक्ष गुरुङले सङ्गठनको अधिवेशन गराउन नसक्ने निष्कर्षसहित आफूहरू विरोधमा निस्कन बाध्य भएको बताए ।

उनले भने, ‘महाधिवेशन गर्ने उहाँले अझै कुनै क्रियाकलाप अघि बढाउनुभएको छैन । केन्द्रीय सदस्यहरूसँग कुनै छलफल नै नगरी तरुण दललाई प्रालिको रूपमा अगाडि बढाउने प्रयास गरियो । त्यसैले हामीले विरोधमा उत्रिएका हौँ ।’

गत चैतमा पार्टीले दिएको वैधानिक समय सकिएको भन्दै आफूहरू अहिले अवैध केन्द्रीय सदस्य बन्न परेको बताए ।

उनले थपे, ‘उहाँले अधिवेशन गराउनेतिर नसोच्ने र एकलौटी ढङ्गले अगाडि बगाउन खोज्दै हुनुहुन्छ । बहुमत केन्द्रीय कमिटीसँग परामर्शपछि उहाँबाट अब अधिवेशन हुन नसक्ने निष्कर्षमा हामी पुगिसकेका छौँ ।’

उनले पार्टी सभापतिसहित पदाधिकारीसँग यसबारेमा आफूहरूले छलफल गरिसकेको पनि बताए । उनीहरूले वर्तमान नेतृत्वबाट तरुण दलको महाधिवेशन हुन नसक्ने ठहर भन्दै तदर्थ समितिको म्याद नथप्न आग्रह गरेका छन् ।

पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा भनिएको छ, ‘तदर्थ समितिको मूल उद्देश्य र पार्टीले दिएको मूल जिम्मेवारी नै तरुण दलको महाधिवेशन हो भनेर हामी केन्द्रीय सदस्यहरूले भनिरहँदा उहाँ भने काम कुरो एकातिर कुम्लो बोकी ठिमी तिर लागिरहनुभयो । कहिले भइरहेको तरुण दलको घर भत्काएर नयाँ घर बनाउने भन्दै लाग्नु भयो ।’

उनले अधिवेशनको नाममा केन्द्रीय समितिलाई थाहै नदिई आफ्नै साथीहरू माझ हानाहान र काटमारको अवस्था सिर्जना गराएको आरोप लगाएका छन् ।